सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्षले नै राजपत्र निकालेपछि…

स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो क्षेत्रको विकास गर्ने हुटहुटी त हुन्छ नै साथसाथै प्रशासनिक र कानुनी अधिकार प्रयोग गर्ने चाहना पनि उत्कट हुने रहेछ । अधिकार हुनेले त कानुन निर्माण गर्न सक्ने नै नभए, अधिकार नभएकाहरुसमेत यतिवेला स्थानीय तहमा कानुन बनाउन लागिपरेका छन् ।

सन्दर्भ हो, कञ्चनपुरको पुनर्वास नगरपालिकाको । वडा नं.९ का वडाध्यक्ष छन् नरबहादुर विक । उनले आफ्नो वडामा मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी नियम बनाए । रमाइलो के छ भने आफुले बनाएको नियमलाई उनले राजपत्रमा प्रकाशन गरे । यो राजपत्र यतिवेला पुनर्वासमा मात्र नभइ जिल्लाभर चर्चाको विषय बनेको छ ।

वडाध्यक्षले वडाभित्र मदिरा नियन्त्रण गर्न नियम बनाएर जारी गर्ने बिचार गरे । नियम बनाएपछि उनलाई राजपत्रमा छाप्न मन लाग्यो र २४ भदौमा उनले आफ्नै हस्ताक्षर र छाप प्रयोग गरेर स्थानीय राजपत्र प्रकाशन गरे । वडाध्यक्ष बिकले यसलाई स्थानीय वडा राजपत्र भनेका छन् ।

स्थानीय कार्यपालिका र सभालाई मात्र कानुन र नीति बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐनले दिएको छ । तर वडाअध्यक्षले भने वडाले बनाउने नियमलाई नै राजपत्रमा प्रकाशन गरिदिएका छन् । खण्ड १ र संख्या १ उल्लेख भएको राजपत्र प्रकाशन भएपनि यसको कानुनी बैधता भने छैन ।

पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले वडाध्यक्षले राम्रो काम गर्न खोजे पनि प्रक्रिया नजान्दा गल्ती भएको बताए । उनले भने, ‘उहाँ राम्रो काम गर्न खोज्ने मान्छे हो । वडाले कानुन बनाउन पाउँदैन, नियम बनाउने अधिकार छ, तर यस्तो नियम राजपत्रमा प्रकाशन गर्नुपर्दैन र राजपत्रमा प्रकाशन गर्ने अधिकार वडाध्यक्षलाई हुँदैन भन्ने उहाँलाई थाहा नभएर गल्ती भएको हो ।’

यस विषयमा वुझ्न वडाध्यक्ष सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । मेयर भने उनी वडा कार्यालयमै रहेको बताउँछन् । उनको वडाका एकजना वडा सदस्यले भने यस विषयमा वडाध्यक्षलाई नै सोध्नुपर्ने जवाफ दिएका छन् ।

हेर्नुहोस् वडा राजपत्र :

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १५:३६

लोकप्रिय