सूचनाको शक्ति - The Power Of Information

        

को हुन् स्वर्गीय सुवास नेम्वाङ ?

स्वर्गीय नेम्वाङको मुल मन्त्र, ‘सहमति, सहकार्य र एकता’

सँधै ‘सहमति, सहकार्य र एकताको विकल्प छैन’ भन्दै दलहरूलाई सहमतिका लागि दबाब दिइरहन्थे ।

दुवै संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि ०६३ सालमा अन्तरिम संसद्को सभामुख भएका नेम्वाङ ०६४ सालमा भएको पहिलो संविधानसभाको अध्यक्ष भएका थिए । संसद् र संविधान सभाको दोहोरो भूमिका भएको सभामा नेम्वाङले दोहोरो जिम्मेवारी निर्वाह गरेका थिए ।

सँधै ‘सहमति, सहकार्य र एकताको विकल्प छैन’ भन्दै दलहरूलाई सहमतिका लागि दबाब दिइरहने नेम्वाङ पहिलो संविधानसभा विघटन भएपछि पुनः दोस्रो संविधान सभामा समेत अध्यक्ष बनेका थिए । सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन र संविधानको जानकार पनि भएका कारण नेम्वाङले दोस्रो संविधान सभामा पनि अध्यक्षको जिम्मेवारी पाएका थिए ।

उनको समन्वकारी व्यक्तित्व र सुशील कोइरालाजस्ता अडान लिने प्रधानमन्त्री भएकै कारण विविध अवरोध र हस्तक्षेपबीच ०७२ असोज ३ मा संविधान सभाबाट संविधान जारी गर्न सम्भव भएको थियो । संविधान जारी भएपछि नेम्वाङले संविधानका सवल पक्षमा प्रशिक्षणसमेत दिने गरेका थिए ।

विसं. २००९ साल फागुन २८ मा इलाममा जन्मिएका नेम्वाङ कानुका स्नातक हुन् । केही समय कानुन व्यवसायीको रूपमा काम गरेका उनले नेपाल ल क्याम्पसमा प्राध्यापनसमेत गरेका थिए । २०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गरेका नेम्वाङ २०५२ सालमा पुनः राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । दुईपटक राष्ट्रिय सभाको सदस्य भएका थिए ।

०५६ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका नेम्वाङ त्यसयताका कुनै पनि निर्वाचनमा पराजित भएका थिएनन् । इलाम–२ बाट निर्वाचित भएर ०६४ र ०७० सालको संविधानसभामा अध्यक्षता गरेका नेम्वाङ संविधान जारी भएपछि जिम्मेवारीबाट हटेका थिए । एमाले राजनीतिबाट करिब ९ वर्ष टाढा देखिएका नेम्वाङ संविधान सभा अध्यक्षबाट राजीनामा दिएसँगै एमाले राजनीतिमा फर्किएका थिए ।

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री र सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालेका नेम्वाङले प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएरसमेत भूमिका निर्वाह गरेका थिए । ०७४ र ०७९ को निर्वाचनमा निर्वाचित भएपछि नेम्वाङले एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाएका थिए । ०७९ सालमा निर्वाचित भएर आएका नेम्वाङलाई एमालेले राष्ट्रको उमेदवार बनाएको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग नेम्वाङ पराजित भएका थिए ।

पार्टी राजनीति

विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका नेम्वाङ ०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बनेका थिए । ०३३ सालपछि नेकपा मालेमा संगठित भएका नेम्वाङ ०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकतापछि बनेको नेकपा (एमाले)मा नेम्वाङ सक्रिय भएका थिए ।

०५४ को छैटौं महाधिवेशनदेखि एमाले केन्द्रीय कमिटी सदस्य भएका उनी ०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । ०७८ सालमा चितवनमा भएको दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचितल भएका नेम्वाङ पछिल्लो समय राजनीतिप्रति नागरिकको असन्तुष्टिप्रति चिन्तित् देखिन्थे ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ०७:३१

लोकप्रिय