सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत

सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न कसरत थालिएको छ । तत्कालीन नेकपाको पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी गोदावरी र नाम सुदूरश्चिम प्रदेश फेर्न वर्तमान नेपाली कांग्रेस नेतृत्वको सरकारले छलफल थालेको हो ।

सुदूरपश्चिम प्रदेशमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले तोकेको राजधानी र नाममा नेपाली कांग्रेसले त्यतिबेलै विरोध जनाएर सडकमा उत्रेको थियो । तर, नेकपासँग दुईतिहाइ बहुमत भएपछि २०७५ असोज १२ गते बसेको प्रदेशसभाको दोस्रो अधिवेशनको ४५ औँ बैठकले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नं २ र ४ को क्षेत्रमा बनाउने र नाम सुदूरपश्चिम प्रदेश राख्ने प्रस्ताव पारित गरेको थियो ।

प्रदेशको राजधानी र नाममा असहमति जनाएको कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारले राजधानी र नाम फेर्न भित्रभित्रै छलफल थालेको छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेस नेतृत्वको गठबन्धन सरकारको बहुमत रहेको छ । बिपक्षमा नेकपा (एमाले) का १० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना र स्वतन्त्र १ गरी १२ जना सांसद मात्र रहेका छन् । गठबन्धन सरकारले चाहेमा प्रदेश राजधानी र नाम फेर्न स्पष्ट बहुमत रहेकाले यसको कसरत थालेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबाहदुर शाह राजधानी क्षेत्र बिस्तार गर्ने विषयमा बन मन्त्रालय लगायत सरोकारवालासँग मन्त्रालयसँग छलफल गर्ने र त्यसमा केही समस्या देखिएमा विकल्प पनि सोच्नुपर्ने बताउँछन् । मुख्यमन्त्री शाहले राजधानी सार्न सक्ने संकेत दिनुभन्दा अघि नै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले यस विषयमा छलफल चलाउनु भएको थियो ।

केही समयअघि मन्त्री देउवाले धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना र गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टसँग यस विषयमा छलफल गरेका थिए । तर त्यसमा ठोस सहमति नभएको बताइएको छ । एउटा संसदले पारित गरेको राजधानीको नाम र क्षेत्रलाई अर्को संसद आउने बित्तिक्कै परिवर्तन गर्न खोज्नु स्थायीत्व विपरित हुने विपक्षी दल नेकपा एमालेका प्रदेशसभा सदस्य धर्म पाठकको भनाई छ ।

राजधानी तोकिएको क्षेत्र गोदावरीको सम्भाव्यता अध्ययनमै करोडौँ खर्च गरेर फेरी अन्तै राजधानी बनाउन खोज्नुले खर्च बढाउने काम बाहेक उपलब्धी नहुने प्रमुख प्रतिपक्षी दल एमालेका प्रदेशसभा सदस्य पाठक बताउँछन् ।

अहिले आएर राजधानी सार्न खोज्नुले यहाँका नागरिक पनि सशंकित भएका छन् । राजधानी तोक्ने र त्यसको सम्भाव्यता अध्ययन लगायतका शिर्षकमा खर्च गरेर फाइदा लिने परिपाटी रोकी धनगढीमै रहेका संरचनाको प्रयोग गर्दै स्थायी राजधानी तोक्नुको विकल्प नरहेको कैलालीका स्थानीय खेमराज श्रेष्ठको भनाई छ ।

नेपाली कांग्रेसले गोदावरीको विकल्पमा राजधानीका लागि छलफल चलाइरहँदा टीकापुर हत्याकाण्डमा राष्ट्रपतिबाट माफी पाएका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि प्रदेशको नाम खप्तड थारुहट प्रदेश राख्नुपर्ने अडान राखेको छ । सत्तामा रहेका दलहरु राजधानी र नामकै मुद्दामा फरक किसिमले प्रस्तुत भइरहँदा फेरि नामकै कारण विभाजित हुने सम्भावना रहन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार १६:५३

लोकप्रिय