सूचनाको शक्ति - The Power Of Information

        

यमपञ्चक

सामाजिक पुनर्मिलनसँगै धार्मिक र सांस्कृतिक महत्वको पर्व ‘तिहार’

नेपालमा तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा यसलाई लिइन्छ ।

यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने नेपालीका दोस्रो ठूलो चाड तिहार आइतबारदेखि सुरु भइसकेको छ । नेपालीहरुलाई धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने यस पर्वको विशिष्ट महत्व रहेको छ ।

नेपाल बहुभाषिक बहुसास्कृतिक र बहुधार्मिक बिशेषताले भरिपूर्ण मुलुकको हो । यहाँ बिभिन्न जातजातिका आआफ्नै संस्कृति र परम्परा बिद्यमान छन् । भूगोल र सम्प्रदाय अनुरुप सबैका आफ्नै रीतिरिवाज र परम्पराहरुले यहाँको सास्कृतिक पाटोलाई फराकिलो बनाएको छ ।

काग तिहार, लक्ष्मीपूजा, गाई तिहार ,गोबद्र्धन पूजा हुँदै भाइटिका गरी मनाइने यस पर्वले नेपालको सास्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धको अन्योन्याश्रित सम्बन्धलाई थप मजबुद बनाएको छ ।

नेपालमा तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा यसलाई लिइन्छ । यसको धार्मिक मूल्यमान्यताहरु त छँदैछ, मूलभुत रुपमा तिहारको धार्मिक महत्वसँगै यसको सांस्कृतिक र सामाजिक पक्षलाई नजरअन्दाज गर्ने हो भने यसको महत्व पूर्णता उजागर हुन सक्दैन ।

धार्मिक महत्व

यमपञ्चकको रुपमा पाँच दिनसम्म मनाइने यस पर्वको सबै दिनमा आफ्रनै महत्व छ । काग तिहारदेखि भाइटिकासम्म गरिने सबै धार्मिक पूजाआजाले उनीहरुप्रतिको मोहलाई दर्शाउँछ । कागको पूजा गर्दै सुरुवात हुने यस पर्वले कागलाई सूचनाको वाहकको रुपमा अथ्र्याउने गरिन्छ ।

यसलाई हिन्दु परम्परा अनुसार यमराजको दूतको रुपमा समेत लिइन्छ । धार्मिक मान्यता अनुरुप यसको पूजा गर्नु यसले सबैलाई समभावकारुपमा हेर्ने समेत विश्वास गरिन्छ । यस्तै यमपञ्चकको दास्रो दिनमा पर्ने कुकुर तिहारमा निकै श्रद्धाका साथ कुकुरको पूजा गर्ने गरिन्छ ।

यसले घरपालुवा जनावर कुकुर जसलाई मालिकभक्त भनेर समेत बुझिन्छ । उसको पुूजा आजा गर्नु उप्रतिको सम्मान हो मानवसमाजमा पशुको महत्व बोध गरेर गरिने यस्ता कार्यले कुकुरप्रतिको अपनत्व प्रकट हुने र मानवलाई पशुको महत्व महशुस गर्ने एक अवसर पनि हो ।

यसको धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको अर्को दूतको रपमा लिइन्छ । आज्ञापालक इमान्दार पशुको रुपमा लिइने यसलाई पुजा गर्नु यमदूतलाई पूजा गरेको मान्यता हिन्दु धर्मले राख्दछ । यस्तै तिहारकै समयमा तेस्रो दिन गरिने लक्ष्मीपूजा र गाई तिहारको नेपाली समाजमा छुट्टै महत्व छ ।

गाईलाई हाम्रो राष्ट्रिय जनावरको रुपमा यसको विशिष्ट महत्वको पशुका रुपमा मान्दछौं । गाईलाई हिन्दु धर्मले देवीको रुपमा श्रद्धापूर्वक पूजा आजा गर्ने गरिन्छ । यसको गहत र गोबर धार्मिक कार्यमा पवित्र मानिन्छ । यसलाई हिन्दु धर्मले हरेक पवित्र कार्यमा अनिवार्य मानेको छ ।

अर्को यमपञ्चकमै पर्ने लक्ष्मी पूजा र गाई तिहारको धार्मिक पाटो नेपाली हिन्दु संस्कारमा महत्वपूर्ण छ । धनकी देवी लक्ष्मीको विशेष पूजाआजा गरिने यस दिनमा ऐश्वर्यप्राप्तिको लागि लक्ष्मीको पूजा आजा गरी घर आगन उज्यालो बनाउने गरिन्छ । यसबाट धनसम्पति आर्जन र ऐश्वर्यप्राति हुने धार्मिक मान्यता छ ।

त्यसपछिका गोर्बधन पूजामा गोरुलाई पूजा गर्ने गरिन्छ । यसमा बर्षभरि अन्न उत्पादनमा मूलभूमिका निर्वाह गर्ने गोरुलाई पूजा आजा गरी मनाइने यस दिन सबैले घरघरमा गाइको गोबरले गोबर्धन बनाई त्यसको पूजा गर्ने गरिन्छ ।

सबैभन्दा महत्वपूर्ण मानिने यमपञ्चकको पाँचौँ दिनमा पर्ने भाइ टिकामा दिदीबहिनीले दाजुभाइको पूजा गरी लामो आयुको कामना गर्ने यस पर्वले पारिवारिक पुनर्मिलन र भातृत्वको भावना विकास गर्ने गर्दछ ।

लामो समयदेखि बिछोडिएका बहिनीहरुले दाजुहरुको सम्मानमा टिका लगाइदिने र दाजुभाइले उपहार कोसेली प्रदान गर्ने गर्दछन् । दिदीबहिनीले भाइटीकाको दिन दाजुभाइलाई भाइटीका लगाउन पानी तथा तेलले सात घेरा हाली छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लावाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ ।

सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन भने सयपत्री फूलको रंग कहिल्यै उडेर जाँदैन । दूबोलाई लामो आयुको प्रतीक मानिन्छ । यसरी मनाइने तिहारको आफ्नै धार्मिक महत्व छ ।

सामाजिक एवं सांस्कृतिक महत्व

यसको सांस्कृतिक र सामाजिक पाटो पनि अत्यन्त महत्वपूर्ण छ । तिहार एक सांस्कृतिक र सामाजिक महत्वको पर्वसमेत हो । यही समयमा नातागोताहरु भेट हुने एक अवसरको रुपमा पनि यसको महत्व छ । गाउँघरमा यो समय सबै जम्मा हुने र भैलो खेल्ने परम्परा छ, जसले सामाजिक र सांस्कृतिक पाटो नीहित छ ।

देउसी र भैलोले यसको थप सामाजिक र सांस्कृतिक पाटो उजागर गर्दछ । सामाजिक विकृति विसंगति लगायत चेतनामुलक गीत संगीतको माध्यमबाट समाजलाई सुसूचित समेत तिहारको माध्यमबाट गर्ने परम्परा हालसम्मै बिद्यमान छ ।

पञ्चायतकालीन निरंकुश अबस्थामा समेत तिहारको समयमा गीत संगीतको माध्यमबाट जनतालाई व्यवस्थाविरुद्ध सचेत बनाउन देउसी र भैलाको माध्यमबाट सचेत बनाइन्थ्यो । उक्त समयमा गाउँघरमा जागरण ल्याउन भैलो खेली राजनीतिक चेतना जगाउने काम समेत कलाकारहरुले गर्ने गर्दथे ।

यसले मानिसहरुलाई सचेत बनाउने र व्यवस्थापरिवर्तको आन्दोलनमा सांस्कृतिक कार्य देउसी भैलोले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सामाजिक र राजनीतिक सचेतना प्रदान गर्न देउसी भैलौ खेल्ने प्रचलन थियो ।

युवादेखि वृद्धसम्म सबै आआफ्नै समूहमा खेलिने भैलाले सामाजिक सद्भाव र राजनीतिक सचेतता प्रदान गर्न मुख्य भुमिका खेलेको दृष्टान्त आजपर्यन्त कायम छ । दिदीबहिनी दाजुभाई पेशाकर्मी लगायत अधिकांश क्षेत्र र समुदायका मानिसहरु मौलिकरुपमा खेलिने देउसी भैलाले सामाजिक एकता र सास्कृतिक प्रर्बद्धनमा टेवा पुर्याएको छ ।

नेपालको हरेक क्षेत्रमा आफ्नै सांस्कृतिक मुल्यमान्यताहरु छन् । ती सबैका आफ्नै मौलिक संसकृति तिहारमा भैलोका माध्यमबाट संरक्षण गर्न र प्रदर्शित गर्न तिहार महत्वपूर्ण माध्यम बनेको छ । यसर्थ यस पर्वको हाम्रो देशको सन्र्दभमा धार्मिकसँगै सामाजिक र सांसकृतिक दृष्टिले बहुआयमिक महत्व रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ०७:५५