सूचनाको शक्ति - The Power Of Information

        

बन्द गरिएको प्याराग्लाइडिङ आजदेखि पुनः सञ्चालनमा

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ खसेर खेलाडीको मृत्यु भएपछि अनिश्चित कालका लागि बन्द गरिएको प्याराग्लाइडिङ आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको फ्लाइट अपरेसन महाशाखाका उप प्रबन्धक विनय गरीका अनुसार प्याराग्लाइडिङ उडानलाई थप नियमित, सुरक्षित तथा व्यवस्थित बनाउनको लागि सुरक्षा सिफारिस गर्ने गरी बनेको समितिले प्रारम्भिक प्रतिवेदन पेस गरेको छ ।

उक्त प्रतिवेदनमा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने भन्ने निर्णय कात्तिक ४ गतेको बैठकबाट निर्णय भएको छ । उक्त निर्णय कार्यान्वयन गर्नको लागि नेपाल हवाई खेलकुद संस्थाले सुरक्षा सिफारिस गर्ने गरी बनेको समितिका संयोजक तथा प्राधिकरण उपमहानिर्देशक हंशराज पाण्डेलाई पत्राचार गरी प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई १५ दिनभित्रमा कार्यान्वयन प्रतिबद्धता जनाएको छ ।

संस्थाबाट प्रतिबद्धता प्राप्त भएपछि आइतबार नेपाल हवाई खेलकुद संस्थाका प्रतिनिधिसहितको बैठक बसेर प्रतिवेदनमा उल्लेख भएका कुराहरू कार्यान्वयन गर्ने निर्णय भएपछि आइतबारदेखि प्याराग्लाइडिङ पुनः सञ्चालन गर्न पाइने भएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गत असोज ३० गते प्याराग्लाइडिङतर्फका खेलहरू सञ्चालन हुँदै थिए । सोही क्रममा नेपाली सेनाको तर्फबाट प्रतियोगितामा सहभागी भएका २८ वर्षिय खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा परेर मृत्यु भएको थियो । खेलका क्रममा खेलाडीको मृत्यु भएपछि नेपाल उड्डयन प्राधिकरणले सोही दिनबाटै प्याराग्लाइडिङलाई अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार १६:३२