मानव सभ्यताको प्रारम्भदेखि नै जीवन र जगत बुझ्ने सक्षम साधन वा माध्यमका रुपमा शिक्षाको विकास भएको हो । शिक्षाको संस्थागत विकास धार्मिक प्रक्रियाबाट, धर्म केन्द्रहरुबाट सुरु भएको पाइन्छ । संसारका पुराना विश्वविद्यालयहरु जस्तै अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, पेरिस विश्वविद्यालय, रोम विश्वविद्यालय आदि क्रिश्चियन चर्चको शैक्षिक अंगका रुपमा थालनी भएका हुन् । युरोपका पुराना सबैजसो स्कुलहरु चर्चले सञ्चालन रेको थियो । कन्भेन्ट भनेकै चर्चले चलाएको स्कुल हो । पश्चिमा क्रिश्चियन स्वयम्सेवकहरु (मिशनरीहरु)ले चर्चमार्फत स्कुल र होस्टेलहरु चलाए साथसाथै स्वयम्सेवकहरु मिशनरी (संस्था)मार्फत यूरोपले उपनिवेश कायम गरेका विभिन्न देशहरुमा पुगे र स्कुलहरु सञ्चालन गरे ।
अफ्रिका र एशियाका विभिन्न मुलुकहरुमा संचालित अंग्रेजी स्कुलहरुको सञ्जाल त्यस कार्यक्रमको निरन्तरता हो । सेंट मेरिज, सेंट जोसेफ, सेंट लरेन्स, सेंट जेभियर्स, सेंट स्टिफन जस्ता स्कुलहरु अहिलेसम्म मानक स्कुलका रुपमा चलिरहेका छन् । ती स्कुल सञ्चालनका पछाडी क्रिश्चियन धर्म प्रचारको मूल उद्देश्य छ । क्रिश्चियन मिशनरी स्कुलजस्तै इस्लामिक समाजमा पनि शिक्षाको मूल जिम्मा मस्जिदले नै स्कुल सञ्चालन गथ्र्यो । अहिले पनि मुस्लिम बस्तीहरुमा मदरसा (इस्लामिक स्कुल, मस्जिदले चलाएका स्कुल) प्रसस्त पाईन्छन् । यी मदरसाहरुले ईस्लामिक शिक्षा मात्र दिएनन् कि इस्लामिक संस्कृति र परम्प।रालाई जोगाउन धेरै सहयोग पनि पुर्याए । नेपालमा जहाँजहाँ मस्जिदहरु छन् प्रायः ती ठाँउहरुमा मदरसा चलेका छन् । जसरी क्रिश्चियनहरुले मिशन स्कुलहरु सञ्चालन गरे, मुसलमानहरुले मदरसा त्यसैगरी नेपालको हिमाली भेगमा रहेका ठुला–ठुला बौद्ध गुम्बाहरुले लामाहरुको नेतृत्वमा विशेष गरेर शेर्पा, गुरुङ्ग र तामाङ सामुदायको बाहुल्यता भएको क्षेत्रमा र काठमाडौंको बौद्ध, फर्पिङ, काभ्रेको नमोबुद्ध क्षेत्रमा बौद्ध वा लामा स्कुलहरु सञ्चालनमा छन् ।
क्रिश्चियन, मुस्लिम र बौद्धहरुले जस्तै हिन्दुहरुले पनि प्राचिन समयदेखि हिन्दु धार्मिक स्थलहरुमा ठुलाठूला मठमन्दिर, आश्रमका संरक्षणमा संस्कृत विद्यालय, पाठशाला सञ्चालन गर्दै आएका छन् । जस्तै (देवघाट, वराह क्षेत्र, स्वर्गद्धारी, पिण्डेश्वरी, जलेश्वरी, मटिहानी, रुरुक्षेत्र (रिडी), विन्ध्यवासिनी पोखरा, दाङ लगायतका क्षेत्रमा संस्कृत पाठशाला लामो समयदेखि चलिरहेका छन् । संस्कृत पाठशालाहरु दुई किसिमका छन् । एउटा अनौपचारीक शिक्षा दिने (पुजापाठ, कर्मकाण्ड, सामान्य ज्योतिष) अर्को औपचारीक शिक्षा दिने औपचारीक शिक्षामा पनि एकथरिले संस्कृत माध्यमिक विद्यालयका रुपमा शिक्षा मन्त्रालय अन्तरगतको माध्यमिक तहको अन्य विषयका साथ संस्कृत पठनपाठन गराँउछन् । केहिले नेपाल संस्कृत विश्वविद्यालय अन्तरगतको पूर्व मध्यमा, उत्तर मध्यमा शास्त्री र आचार्य तहसम्मको पठनपाठन सञ्चालन गर्दछन् । नेपालमा संस्कृत विश्व विद्यालय संचालन हुनु भन्दा पहिला केहि विद्यालयले बनारस संस्कृत विश्वविद्यालयको पाठ्यक्रम पढाउने र पछि त्यही विश्वविद्यालयको परिक्षा दिलाउने चलन थियो । नेपालमा आधुनिक शिक्षाको सुरु हुनुपूर्व शिक्षाको मूल नेतृत्व यिनै संस्कृत पाठशालाहरुको रहेको थियो ।
संस्कृत शिक्षा जातीय आधारमा सीमित रहेकाले यसले चेतनाको ज्योती समाजका सबै समुदायमाझ पुर्याउन सकेन । सनातन हिन्दु धर्म सञ्चालित पाठशालामा विशेष गरेर दलितहरुलाई र महिलाहरुलाई प्रवेश खुला राखिएको थिएन । आर्य समाजद्धारा सञ्चालित पाठशालाहरुले सनातनी परम्परालाई चुनौती दिदैं शिक्षाको ढोका महिलाहरुका लागि खुला गरे । हिन्दु समाजमा महिला शिक्षाको चेतना सर्वप्रथम स्वामी दयानन्द सरस्वतीद्धारा आर्य समाजले नै प्रारम्भ गरेको हो । भारतमा सुरु भएको सुधारवादी आन्दोलनले नेपालको रुढीवादी चेतनालाई पनि प्रभाव पार्यो । कन्या पाठशाला, कन्या महाविद्यालयको संचालन त्यही सुधारवादी आन्देलनको प्रभावको परिणम हो । भारतमा खासगरेर बंगाल क्षेत्रमा ब्रह्मो समाज र उत्तर भारतमा आर्य समाजले हिन्दु अन्धविश्वास र रुढीवादी पछौटेपनलाई चुनौती दिए र सामाजिक सुधारका कार्यक्रम थालनी गरे । यी सुधारहरु पश्चिमा ज्ञान र विज्ञानको, शिक्षा र प्रविधिको चेतनालाई आत्मसाथ गरेर त्यो चेतनामार्फत स्थानिय अन्धविश्वास, सामाजिक परम्परा र मूल्य मान्यतालाई सुधार गर्ने, परिमार्जित गर्ने र पश्चिम र पूर्वको ज्ञानबीच समन्वय गर्ने प्रयास थियो ।
पश्चिमा चर्चहरुले सुरु गरेको धर्म शिक्षा क्रमशः फराकिलो हुदैँ विज्ञान र ब्यवसायलाई आत्मसाथ गर्यो । त्यसपछि शिक्षा बिस्तार हुदैँ सभ्य जीवनको प्रतीक, संस्कृति र सभ्यताको प्रतिक बन्यो । राम्रो शासन र राम्रो सरकारको सोझो सम्बन्ध शिक्षाको बिकाससँगा गाँसियो । विकसित सहरको पहिचान विकसित पुस्तकालय हुन पुग्यो । त्यसैले युरोपका मुख्य मुख्य सहरहरुमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । बेलायती र फ्रान्सेली साम्राज्यले जुन जुन ठाँउमा उपनिवेश कायम गरे । त्यहाँका उल्लेख्य सहरहरुमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । जसरी बेलायती शासनका बेला भारतका प्रमुख सहरहरुमा बेलायती शासकहरुले स्थापना गरेका सार्वजनिक पुस्तकालयहरु अझैपनि सञ्चालित छन् । सन् १९४७ मा भारत स्वतन्त्र भैसकेपछि पनि उत्तर औपनिवेशिक सरकारले ती पुस्तकालयहरुलाई निरन्तरता दिने काम गर्यो त्यसैले ति पुस्तकालयमार्फत लाखौँ भारतीय जनताहरु लाभान्वित भएका छन् ।
पाचौँ शताब्दी इशापूर्व ग्रीसका टापुहरुमा सुरु भएको ज्ञान चिन्तन, दार्शनिक सोँच र साहित्य सृजना अलेक्जेण्डर महानको राज्य विस्तार योजनासँगै एसिया महाद्धिपका विभिन्न भागहरु परिचित हुन पुगे । प्रथम इशापूर्वमा ग्रीक चिन्तन रोम साम्राज्यमार्फत युरोप र अफ्रिकामा पुग्यो भने क्रिश्चियन विचारको उदय र विस्तारसँगै ग्रीक र रोमन साँस्कृतिक, साहित्यिक र दार्शनिक विचारहरु क्रिश्चियन चिन्तनकासाथ सामञ्जस्य हुन पुगे । पाचौँशदी इशवीदेखी चौधँौ शताब्दीसम्म समग्र युरोपमा केथोलिक क्रिश्चियन साम्राज्य कायम रहयो र दार्शनिक र साहित्यिक क्षेत्रमा अन्य समस्त सोचहरु क्रिश्चियन मुलधारमा विलय हुन पुगे । तर पन्ध्रौ शताब्दीमा बिज्ञानको विशेषगरी खगोलशास्त्र र भूगोलको विकाससँगै क्रिश्चियन चिन्तन प्रणलिमा प्रश्नहरु गरिन थलिए । मानिसहरुले प्राचिन ग्रीस र रोमका साहित्य र दर्शनका ग्रन्थहरु खोजी खोजी अध्ययन गर्न थाले । जसले नयाँ सोँच नयाँ विश्लेषण र नयाँ शैलीको जन्म भयो । जसलाई पुनर्जागरण युग भनिन्छ ।
शिक्षा, ज्ञान, शक्ति र धन मानव जीवनका उद्धेश्य बन्न पुगे । ज्ञान र शक्ति, शक्ति र धनको एकआपसमा सहयोगी सम्बन्ध रह्यो । ज्ञानका खोजीमा विभिन्न अनुसन्धान केन्द्र खोलिए । युरोपको संसार माथि अधिपत्य भयो शक्ति प्रदशन भयो । एशिया र अफ्रिका महाद्धिपमा पनि ज्ञान र सीपको कमी थिएन तर आत्मतृष्टि दर्शन र परलोकवादी चिन्तनले गर्दा शक्ति र धन आर्जनका पक्षहरु गौण रहे अमूर्त चिन्तन मुल पक्ष रह्यो । यस सोचले भौतिक उन्नतितर्फ अग्रसर हुन प्रेरित गरेन । युगौँसम्म पुराना सोंच र चिन्तनमा खासै परिर्वन गरिएन । निरन्तरता मात्र भयो । समृद्धि भन्दा बाँच्ने कुरा प्रमुख रह्यो । त्यसैले हिन्दु शिक्षा प्रणाली, बौद्ध शिक्षा प्रणाली, इस्लामी शिक्षा प्रणली आ–आफ्ना स्थानिक स्वरुपमा सिमित भए । पश्चिमा क्रिश्चियन शिक्षा पद्दतिले विभिन्नरुपमा आफुलाई अन्तर्राष्ट्रिय स्वरुपमा प्रस्तुत गर्न सफल भयो ।
चाहे त्यो विज्ञान र प्रविधिको रुपमा होस् वा बाणिज्य र ब्यवस्थापन विषयका रुपमा वा साहित्य र सौन्दर्य शास्त्रका रुपमा पश्चिमा शिक्षा लामो समयसम्म अप्रतिस्पर्धी एकल विजयी बनी रह्यो । पश्चिमको बैज्ञानिक र प्राविधिक ज्ञानलाई अंगिकार नगरी कुनै पनि आधुनिक समाज टिक्न सक्दैन तर प्रत्येक समाजले आफ्नो साँस्कृतिक पहिचान दिन सकेन भने उसको पहिचान लोप हुने खतरा बढ्छ । त्यसैले पश्चिमी प्रविधिको ज्ञानको सहयोगले स्थानिय सँस्कृति र परम्परा, रीतिरिवाज र संस्कार, चाडपर्व, भेषभुषा, रहनसहनलाई लेखनमा, अभिनयमा, संगितमा, अनुसन्धान लगायतका रुपमा जोगाउनु पर्दछ । कुनै पनि परम्परा लोप भईसकेपछि त्यसलाई फेरी जीवन्त रुपमा फर्काउनु असम्भव हुन्छ । त्यसैले पूर्वको ज्ञान र सिपलाई पश्चिमको प्रविधिका सहयोगले जोगाउनु पर्छ । हाम्रो ज्ञान परम्परा महत्वपूर्ण छ । हाम्रो सम्पदालाई जोगाउँ र आफ्नो पहिचान बचाउँ । आजको आवश्यकता आफ्नो पहिचान र आफ्नो संस्कृतिको संरक्षण हो ।
रेनुका गिरी ।