सूचनाको शक्ति - The Power Of Information

        

बेमौसमी वर्षाले दिएको पीडा

बाँकेको नरैनापुरमा निम्तिँदै खाद्य सङ्कट, स्थानीय चिन्तित

गत वर्ष धान भित्र्याउन नपाउनु, यस वर्ष रोपाइँ नहुनु र अलिकति भएको रोपाइँ पनि वर्षाले सखाप पार्दा नरैनापुरमा खाद्य सङ्कट सुरु भइसकेको छ ।

धान उत्पादन नभएपछि बाँझो रहेका नरैनापुरका खेत ।

बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर गाउँपालिका–४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन ।

६० क्विन्टल धानमध्ये परिवारका लागि खान पुग्ने राखेर बाँकी सबै बिक्री गर्दै आएका उनले यस वर्ष के खाने भन्ने चिन्ताले सताउन सुरु गरेको बताए ।

उनले पहिले सुख्खा र पछि बाढीले डुबान गरेपछि धान उत्पादन नभएको जनाउँदै कसरी बालबच्चाको पेट भर्ने हो भन्ने चुनौती नै अहिलेको ठूलो समस्यामा पारेको बताए । नरैनापुर गाउँपालिका–४ का सरिफ खानको खेतमा पनि अहिले कुनै बाली छैन ।

गत वर्ष २२ बिगाहा लगाएको धान बेमौसमी वर्षाले सखाप पारेको पीडा समाप्त हुन नपाउँदै यो वर्ष समयमै वर्षा नहुँदा उनले दुई बिगाहा मात्र धान रोपाइँ गर्न भ्याए । तर, दुई बिगाहाको सो धान पनि वर्षाले भएको डुबानमा परेर नष्ट भएपछि उत्पादन नै भएन ।

धान खेतमै क्षति पुग्यो । लगातार दुई वर्ष उनले एक दाना पनि धान उत्पादन गर्न सकेनन् । धान उत्पादन शून्य भएपछि अहिले खानको परिवारमा खाद्य सङ्कट सुरु भएको छ । घरमा खाने चामल नभएर समस्या भइरहेको उनले बताए ।

खान जस्तै नरैनापुरका जलिल मनिहारको पनि खेत यो वर्ष समयमा वर्षा नहुँदा बाँझै बन्यो । उनले जसोतसो बोरिङको पानीले थोरै रोपाइँ गरेका थिए, तर, असोज अन्तिम साता आएको बेमौसमको भीषण वर्षाले सबै सखाप पार्यो ।

मनिहारको प्रमुख आर्थिक स्रोत नै खेती भए पनि धान एक दाना नहुँदा अहिले उनको परिवारमा पनि खाद्य सङ्कट सुरु भइसकेको छ । लगातार दुई वर्ष उत्पादन नहुँदा खाद्य सङ्कटको सामना गर्नुपर्ने बाध्यता सो क्षेत्रका अधिकांश बासिन्दालाई आइपरेको छ ।

बाँकेको दुर्गम भनेर चिनिने नरैनापुरमा यो वर्ष ९५ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ । समयमै वर्षा नहुँदा यहाँका किसानले धान रोपाइँ नै गर्न पाएनन् भने केहिले थोरै रोपे पनि बेमौसमको ठूलो वर्षाले त्यसलाई सखाप पार्यो ।

नरैनापुरमा चार हजार ९६६ हेक्टर जमिन खेतीयोग्य छ, तर यसपटक अधिकांश जमिन बाँझै छ । गत वर्ष धान भित्र्याउन नपाउनु, यस वर्ष रोपाइँ नहुनु र अलिकति भएको रोपाइँ पनि वर्षाले सखाप पार्दा नरैनापुरमा खाद्य सङ्कट सुरु भइसकेको गाउँपालिकाले जनाएको छ ।

पहिले सुख्खा र पछि डुबानका कारण पालिकामा खाद्य सङ्कट सुरु भइसकेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । उनका अनुसार वडा नम्बर ५ र ६ मा मात्र केही रोपाइँ भएको थियो तर, वर्षाले सो पनि सखाप बनायो ।

सो पालिकाको प्रमुख बाली नै रोपाइँ र उत्पादन नभएपछि पालिका चरम खाद्य सङ्कटको जोखिममा परेको मिश्राको भनाइ छ । उनले अर्थमन्त्रीले आफैं आएर सुख्खाको अवस्था हेरेर गए पनि राहतको नाममा केही नभएको बताए । लगातार दुई वर्ष उत्पादन नहुँदा चरम खाद्य सङ्कट झेल्नुपरेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १५:२७