सूचनाको शक्ति - The Power Of Information

        

उम्मेदवार छनोटप्रति असन्तुष्टि

बाँकेमा माओवादीभित्र भुइँचालो, नेताहरुले दिए सामूहिक राजीनामा

माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

उम्मेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३ (क)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उम्मेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् ।

निर्वाचनमा उमेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उमेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जर्बरजस्त रुपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (क) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजिनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौर उम्मेदवार छन् । प्रदेशसभा सदस्यको लागि क्षेत्र नम्बर ३ (क) बाट बलियो मानिएका पूर्वमन्त्री दलबहादुर सुनार स्वतन्त्र उम्मेदवार छन् ।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत हुन् । क्षेत्र नम्बर ३ (क) बाटै माओवादी केन्द्र इन्द्रबहादुर खरेल (आइपी) र (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी उमेदवार चुनावी प्रतिश्पर्धामा छन् ।

पार्टीको केन्द्रले उमेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (क) संयोजक दिपेन्द्रबहादुर शाह, सचिव महेन्द्रबहादुर शाही लगायत रहेका छन् ।

उनीहरुले दिएको राजीनामालाई समर्थन जनाउँदै नेकपा माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यवद्धता जनाएका छन् ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरुले उम्मेदवार छनोटको विषयलाई लिएर केहि असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए । बाँके क्षेत्र नम्बर ३ (क)का उमेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढ्ने तयारी भैरहेको बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १०:३८