सूचनाको शक्ति - The Power Of Information

        

२४ वर्षपछि गान्धी परिवारबाट मुक्त हुँदै भारतीय कांग्रेसको नेतृत्व

भारतीय कांग्रेस पार्टीको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । आज विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । ९ हजार २०० पार्टी प्रतिनिधिहरूले अध्यक्षका लागि मतदान गर्दैछन् । नतिजा भने दुई दिनपछि सार्वजनिक हुनेछ ।

यसपटक अध्यक्ष पदमा गान्धी परिवारभन्दा बाहिरबाट मात्रै उम्मेदवारी परेको छ । कांग्रेस आईका वरिष्ठ नेता शशि थरुर र मल्लिकार्जुन खड्गे अध्यक्ष पदका लागि मैदानमा छन् । दुबै गान्धी परिवारसँग निकट मानिन्छन् ।

सन् २०१९ को आम निर्वाचनमा पार्टी पराजय भएपछि राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिने क्रममा नै अबदेखि गान्धी परिवारबाट कोही पनि अध्यक्ष नहुने बताएका थिए । राहुलले २०१७ मा अध्यक्षको जिम्मेवारी सम्हालेपछि सम्पन्न निर्वाचनमा पार्टीले लगातार दोस्रोपटक हार व्यहोरेपछि सन् २०१९ मा नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेका थिए ।

त्यसयता सोनिया गान्धी नै अन्तरिम अध्यक्षका रूपमा दोहोरिएकी थिइन् । सोनिया सन् १९९८ यता करिब २२ वर्ष पार्टीको नेतृत्वमा बसिरहेकी छिन् । उनी कांग्रेसको नेतृत्व सबभन्दा लामो समय निरन्तर गर्ने एक मात्रै अध्यक्ष हुन् । छोरा राहुललाई उत्तराधिकारीका रूपमा अध्यक्षको जिम्मेवारी सुम्पिए पनि सम्हाल्न नसकेपछि उनी आफैं अन्तरिम अध्यक्ष बनेकी थिइन् ।

भारतीय कांग्रेसको इतिहासमा सन् १९४८ यता पार्टीको नेतृत्व सबभन्दा बढी समय गान्धी परिवारले गरेको छ । गान्धी परिवारबाट कांग्रेसको नेतृत्व जवाहरलाल नेहरूले सन् १९५१ देखि १९५४ सम्म गरे । त्यसपछि सन् १९५९ मा इन्दिरा गान्धी करिब एक वर्ष पार्टीको अध्यक्ष बनिन् । त्यसपछि सन् १९७८ मा पुनः अध्यक्षमा दोहोरिएकी इन्दिराले सन् १९८३ सम्म पाँच वर्ष कांग्रेसको नेतृत्व सम्हालिन् ।

इन्दिरापछि राजीव गान्धी १९८५ देखि १९९१ सम्म कांग्रेसको अध्यक्ष बने । त्यसपछि १९९६ मा सीताराम केसरीले पार्टी अध्यक्ष जितेका थिए । तर १९९८ मा सोनियाले उनलाई हटाएर आफू अध्यक्ष बनेपछि लामो समय पार्टीको नेतृत्वमा बस्ने अवसर प्राप्त गरिन् । भारत स्वतन्त्र भएयता भारतीय कांग्रेसको अध्यक्ष बनेका १६ जनामध्ये पाँच जना गान्धी परिवारका व्यक्ति छन् भने ७४ वर्षमा करिब ४० वर्ष गान्धी परिवारले कांग्रेसको नेतृत्व गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १०:०१