सूचनाको शक्ति - The Power Of Information

        

बिक्नै छाडे मादल, विद्युतीय ‘साउण्ड सिस्टम’ले खायो बजार

ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन् । उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो ।

बाबुबाजेबाट सिकेको सिपले उनलाई सहज थियो । तर अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने गर्न थालेका छन् । मादल व्यवसाय संकटमा परेपछि दर्जीले पेशा बदल्नुपरेको हो । उनले आफूसँग भएको सिप नबिकेपछि पेशा परिवर्तन गर्नुपरेको बताए ।

‘मलाई पाँच–सात वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिएँँ,’ उनले भने, ‘अहिले दुई जनाको पेट पाल्न पनि अरु काम गर्नुपर्छ, मादल बिक्री हुँदैन । बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।’

पहिले बाह्रै महिना मादलको माग हुने गरेको र चाडबाडको वेला भ्याइनभ्याइ हुने गरेको उनले सम्झिए । अहिले मादल बिक्री नै नहुने उनले बताए । अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । अहिले मादलको मूल्यसमेत घटेको दर्जी बताउँछन् ।

‘मेरो पसलमा पहिले बाह्रै मास मादल किन्ने आउँथे । हरेक महिना कम्तीमा पनि १० वटा मादल बिक्री गर्दथ्यौँ,’ उनले सम्झिए, ‘एउटाको १२ सयदेखि पाँच हजारसम्ममा बेच्ने गर्थेँ । वर्षमा झण्डै पाँच लाख कमाइ गर्थेँ ।’ दर्जीले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसीभैलो खेल्नेले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो ‘साउण्ड सिस्टम’ किन्ने गरेको दर्जीको भनाइ छ ।

निसीखोला गाउँपालिका–५ का कुलबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि मादल कमै बिक्री हुन्छ । वार्षिक ८०० बढी मादल बेच्ने नेपालीले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको गुनासो गरे । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।

‘चार वर्ष भयो मादल निकै कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन,’ उनले भने, ‘तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, मादल पुराउनै सकिन्नथ्यो, अहिले हेर्नुस् त यतिधेरै मादल बनाएँ, बिक्री नै हुँदैनन् ।’ आधुनिकताले मादल व्यवसाय पनि संकटमा परेको उनको भनाइ छ ।

अहिले चाडबाड तथा मेला महोत्सवमा ठूलाठूला स्पिकर र साउण्ड सिस्टमको प्रयोग हुने कारण मादल संकटमा परेको उनले बताए । गाउँ–गाउँमा सूचना प्रविधिको पहुँच पुगेपछि मादल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेपछि बजारमा विद्युतीय सामग्रीको माग बढी रहेको व्यवसायी बताउँछन् । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बिक्री गर्ने जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउण्ड सिस्टम र माइकको माग निकै बढेको बताए ।

पहिले–पहिले चाडबाडको समयमा मादलको बिक्री अत्यधिक हुने गरेकोमा अहिले मादल कम र साउण्ड सिस्टम धेरै बिक्री हुने गरेको उनले बताए । ‘केही वर्ष अगाडिसम्म त गाउँमा जाँदा मादल बाजा घन्किने गरेको पाइन्थ्यो’, शर्माले भने, ‘अहिले त मेला महोत्सव जताततै साउण्ड सिस्टम घन्किन्छन्, मादल त बज्नै छोडे ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०९:३४