आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूले महिलालाई प्रत्यक्षतर्फ उम्मेदवारमा प्राथमिकतामा राखेका छैनन् । न्यून संख्यामा रहेका अधिकांश महिला उम्मेदवारले ‘हेभिवेट’ नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । एमालेले ११ जना महिला उम्मेदवार उठाएको छ । यो संख्या एमालेको कुल उम्मेदवार एक सय ३९ को आठ प्रतिशत हो ।
कुल ४६ उम्मेदवार उठाएको माओवादीबाट आठ अर्थात् करिब १६ प्रतिशत महिला उम्मेदवार छन् । कांग्रेसले ९१ मध्ये पाँच र एकीकृत समाजवादीले २० मध्ये एकजना महिला उम्मेदवार उठाएका छन् । देशव्यापी गठबन्धन गरेकाले कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट कम महिला उम्मेदवार बनेका हुन् । जसपा र लोसपाले महिला उम्मेदवार नै उठाएका छैनन् ।
जुलीकुमारी महतो र अनिलकुमार झा (धनुषा ३)
एमाले नेतृ जुलीकुमारी महतो धनुषा ३ बाट चुनावी मैदानमा छिन् । एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेकी महतोको भिडन्त लोसपाका अनिलकुमार झासँग हुँदै छ । झा गठबन्धनका उम्मेदवार बनेका छन् ।
मञ्जु चौधरी र नारायण खड्का (उदयपुर १)
एमालेकी मञ्जुकुमारी चौधरी पाँच वर्षपछि फेरि कांग्रेसका डा.नारायण खड्कासँग प्रतिस्पर्धामा छिन् । परराष्ट्रमन्त्री खड्काले यस क्षेत्रबाट लगातार तीनपटक निर्वाचन जितेका छन् । उदयपुर १ बाट एमाले–जसपा गठबन्धनबाट चौधरी उम्मेदवार बनेकी हुन् ।
ज्वालाकुमारी साह र लालबाबु सिंह (बारा ३)
एमालेकी ज्वालाकुमारी साह बारा ३ बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । जहाँ उनको भिडन्त सत्तारूढ गठबन्धन उम्मेदवार लोसपाका लालबाबु सिंह र जसपाका रामबाबुकुमार यादवसँग हुँदै छ । माओवादी छाडेर एमाले गएपछि साहको प्रदेश सांसद पद खारेज भएको थियो ।
पद्मा अर्याल र धनराज गुरुङ (स्याङ्जा २)
एमाले सचिव पद्मा अर्याल स्याङ्जा २ बाट उम्मेदवार बनेकी छिन् । यसपटक उनी कांग्रेस उपसभापति धनराज गुरुङसँग प्रतिस्पर्धामा छिन् । उनले अघिल्लो निर्वाचनमा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् ।
विद्या भट्टराई र श्रीनाथ बराल (कास्की २)
एमालेकी विद्या भट्टराई कास्की २ बाट उम्मेदवार छिन् । यो क्षेत्रमा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् । दशकौँ एमालेको राजनीति गरेका बराल अवसर नपाउने नेतामध्येका एक हुन् । बराल सत्तारूढ गठबन्धनका उम्मेदवार हुन् ।
मञ्जु शर्मा चालिसे र देवेन्द्र पौडेल (बाग्लुङ २)
एमालेकी मञ्जु शर्मा चालिसे बाग्लुङ २ बाट उम्मेदवार छिन् । कांग्रेसको महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्य रहेकी शर्माले केही समयअघि एमाले प्रवेश गरेर प्रतिनिधिसभाको टिकट लिएकी हुन् । यो क्षेत्रमा माओवादीका देवेन्द्र पौडेल सत्तारूढ गठबन्धनका उम्मेदवार छन् । उनी शिक्षामन्त्री छन् ।
शान्ता चौधरी र मेटमणि चौधरी (दाङ १)
एमाले नेतृ शान्ता चौधरी एकीकृत समाजवादीका मेटमणि चौधरीसँग प्रतिस्पर्धामा छिन् । एमाले र थारू आन्दोलनका समेत सहयात्री शान्ता र सहरी विकासमन्त्री मेटमणि आगामी निर्वाचनमा दाङ १ बाट प्रतिस्पर्धी बनेका छन् । यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा मेटमणि निर्वाचित भएका थिए ।
निरुदेवी पाल र रेमश लेखक (कञ्चनपुर ३)
एमाले केन्द्रीय सदस्य निरुदेवी पाल पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । युवा संघकी पूर्वअध्यक्ष पाल यसअघि प्रतिनिधिसभाको समानुपातिक सांसद थिइन् । यो क्षेत्रमा कांग्रेसका रमेश लेखक उम्मेदवार छन् । लेखक पूर्वमन्त्री हुन् ।
कोमल वली र दीपक गिरी (दाङ ३)
एमाले नेतृ कोमल वली दाङ ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । राप्रपा छाडेर एमाले प्रवेश गरेकी वलीलाई एमालेले अघिल्लो कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाएको थियो । यो क्षेत्रमा कांग्रेसका दीपक गिरी उम्मेदवार छन् । गिरीलाई सत्तारूढ गठबन्धनको साथ छ ।
गौरी ओली र प्रेम आले (डोटी)
एमालेकी गौरी ओली डोटीबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेबाटै प्रेम आले निर्वाचित भएका थिए । उनी हाल एकीकृत समाजवादीमा छन् । आलेलाई सत्तारूढ गठबन्धनको साथ छ ।
पम्फा भुसाल र अमृत खड्का (ललितपुर ३)
ऊर्जामन्त्री एवं माओवादी नेतृ पम्फा भुसाल ललितपुर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यतिवेला भुसाललाई एमालेको साथ थियो । अहिले उनलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा एमालेका अमृत खड्का प्रतिस्पर्धामा छन् ।
ओनसरी घर्ती र मणिराम फुँयाल (काठमाडौं २)
काठमाडौं २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्तीलाई सत्तारूढ दलको साथ छ । यो क्षेत्रमा एमालेका मणिराम फँुयाल उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
कल्पना धमला र कृष्णगोपाल श्रेष्ठ (काठमाडौं ९)
०६४ मा धादिङ २ बाट प्रतिनिधिसभामा निर्वाचित कल्पना धमला यसपटक काठमाडौं ९ बाट उम्मेदवार बनेकी छिन् । धमलासँग एमालेका कृष्णगोपाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । उनी अघिल्लोपटक यही क्षेत्रबाट विजयी भएका थिए ।
मानुषी यमी भट्टराई र श्याम घिमिरे (काठमाडौं ७)
नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराई माओवादीको चुनाव चिह्नमा काठमाडौं ७ बाट उम्मेदवार बनेकी छिन् । उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी हुन् । यो क्षेत्रमा एमालेका श्याम घिमिरे प्रतिस्पर्धामा छन् ।
गोमा गौतम कुँवर र रतननाथ योगी (जुम्ला)
माओवादीकी गोमा गौतम कुँवर जुम्लाबाट निर्वाचन लड्दै छिन् । उनी प्रतिनिधिसभामा कर्णाली प्रदेशकै एक्ली महिला उम्मेदवार हुन् । उनलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाही उम्मेदवार छन् ।
विना मगर र तारा लामा (कञ्चनपुर ३)
अघिल्लोपटक पनि कञ्चनपुर १ बाट निर्वाचित माओवादीकी विना मगर यसपटक पनि उम्मेदवार बनेकी छिन् । अघिल्लो निर्वाचनमा उनलाई एमालेको साथ थियो । अहिले एमालेसँगै उनको प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका तारा लामा उम्मेदवार छन् ।
अन्जना विशंखे र राजेन्द्रकुमार केसी (काठमाडौं १०)
माओवादी नेतृ अन्जना विशंखे काठमाडौं १० बाट प्रतिनिधिसभा निर्वाचन लड्दै छिन् । सत्तारूढ गठबन्धनमा यो क्षेत्र कांग्रेसको भागमा परे पनि माओवादीबाट विशंखेले उम्मेदवारी दर्ता गरेकी हुन् । यो क्षेत्रमा कांग्रेसका राजेन्द्रक्ुमार केसी र एमालेका हिमेस केसी उम्मेदवार छन् ।
सुजाता कोइराला र ऋषिकेश पोखरेल (मोरङ २)
कांग्रेसकी सुजाता कोइराला मोरङ २ बाट उम्मेदवार बनेकी छिन् । अघिल्लोपटक यो निर्वाचन क्षेत्रबाट कांग्रेसका डा. मीनेन्द्र रिजालले विजयी भएका थिए । यो क्षेत्रमा एमालेका ऋषिकेश पोखरेल उम्मेदवार छन् ।
चित्रलेखा यादव र राजकिशोर यादव (सिराहा २)
कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सिराहा २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । पूर्वउपसभामुख यादवलाई सत्तारूढ गठबन्धनको साथ छ । यो क्षेत्रमा जसपाका राजकिशोर यादव उम्मेदवार छन् । उनलाई एमालेको साथ छ ।
महालक्ष्मी उपाध्याय ‘डिना’ र कमल थापा (मकवानपुर १)
कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर १ बाट उम्मेदवार बनेकी छिन् । उनको भिडन्त राप्रपा नेपालका अध्यक्ष कमल थापासँग हुँदै छ । अघिल्लोपटक यो निर्वाचन क्षेत्रमा एमालेले जितेको थियो ।
सीता गुरुङ र विजय सुब्बा (तेह्रथुम)
कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ तेह्रथुमबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । यो क्षेत्रमा एमालेका विजय सुब्बा उम्मेदवार छन् ।
भगवती चौधरी र विजय गच्छदार (सुनसरी ३)
सुनसरी ३ मा तेस्रोपटक कांग्रेसका विजय गच्छदार र एमालेकी भगवती चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । दोस्रो संविधानसभा निर्वाचन ०७० र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा गच्छदार झिनो मतान्तरले विजयी भएका थिए । अघिल्लोपटक वाम गठबन्धन भए पनि गच्छदारले चौधरीलाई हराएका थिए । पटक–पटक मन्त्री भइरहेका गच्छदारसँग पहिलोपटक प्रतिस्पर्धा गर्दा चौधरी एमालेको जिल्लास्तरीय नेता थिइन् ।
हाल उनी केन्द्रीय सदस्य छिन् । ‘धाँधलीका कारण मैले दुईपटक निर्वाचनमा पराजित हुनुपर्यो । ०७० को निर्वाचनमा प्रशासन लगाएर धाँधली गरियो । ०७४ मा पनि त्यसरी नै विपक्षीले निर्वाचन जिते । छलछामको राजनीति भयो । अदालतका मुद्दा पनि हालेँ, तर, अदालतले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिँदासम्म पनि मुद्दाको किनारा लगाएन । अदालतले न्याय गरेन । अब निर्वाचनमा जनताले न्याय गर्छन् भन्ने विश्वास छ,’ चौधरीले भनिन् ।
रेखा शर्मा र शंकर पोखरेल (दाङ २)
माओवादी नेतृ रेखा शर्मा एमाले महासचिव शंकर पोखरेलबीच दाङ २ मा प्रतिस्पर्धा हुँदै छ । ०७० र ०७४ मा समानुपातिक सांसद भएकी शर्मा पूर्वमन्त्रीसमेत हुन् । उनी पहिलोपटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन लड्दै छिन् । सत्तारूढ गठबन्धन र एमाले दुवैले यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘चुनावी मैदानमा एजेन्डाको विषय मुख्य हुन्छ । पदीय हिसाबले शक्तिशाली मान्ने हो कि उमेरको हिसाबले मान्ने हो । एजेन्डाका हिसाबले मानिस शक्तिशाली र कमजोर हुन्छ । एजेन्डाका हिसाबले जित्ने आधार भनेको हाम्रो गठबन्धन हो । दोस्रो, हामी संविधानको पक्षमा छौँ । संघीयताको पक्षमा छौँ । हामी राजनीतिक अस्थिरता फेरि नहोस् भन्नेमा छौँ,’ शर्माले भनिन् ।
पुष्पा भुसाल र टोपबहादुर रायमाझी (अर्घाखाँची)
निवर्तमान उपसभामुख पुष्पा भुसाल अर्घाखाँचीबाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । कांग्रेसकी नेतृ भुसालको भिडन्त एमाले नेता टोपबहादुर रायमाझीसँग हुँदै छ । रायमाझीले यसअघि एमालेको समर्थनमा माओवादीबाट निर्वाचन जितेका थिए । यसपटक माओवादीको साथ भुसाललाई छ । ‘म पहिला पनि प्रत्यक्ष निर्वाचनमा लडेको व्यक्ति हुँ । प्रतिस्पर्धा कोसँग भन्दा पनि मैले एजेन्डालाई प्राथमिकता दिएकी छु । मेरो उम्मेदवारीलाई समस्त महिलाका लागि नै अवसरको रूपमा लिनुपर्छ । परिवर्तनको पक्षमा उभिँदै आएको छु । निर्वाचन एजेन्डाले जित्ने हो । एजेन्डाविहीन भएपछि सांसद, मन्त्री भएर मात्र केही हुँदेन । म काम गरेर जवाफ दिन चाहन्छु,’ भुसालले भनिन् ।
रामकुमारी झाँक्री र गोकर्ण विष्ट (गुल्मी २)
एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी छिन् । अनेरास्ववियूकी पूर्वअध्यक्ष झाँक्रीलाई सत्तारुढ गठबन्धनको साथ छ । उनको प्रतिस्पर्धा एमाले सचिव गोकर्ण विष्टसँग हुँदै छ । अघिल्लो निर्वाचनमा झाँक्री विष्टको चुनावी कमान्डर थिइन् । यो क्षेत्रमा एमालेका गोकर्ण विष्ट निर्वाचित हुँदा झाँक्री चुनावी कमान्डर थिइन् ।
‘दलीय हिसाबले हामी अहिले फरक–फरक कित्तामा उभिएर प्रतिस्पर्धा गर्दैछौं । एमालेमा हुँदा हामी युवा उहाँलाई जिताउन हिँड्यौँ । तर, उहाँले सहज ढंगले हामीलाई नेतृत्वमा स्थापित गर्न सहयोग नगरेको कुरा पनि सत्य हो । हामी एकअर्काका प्रतिस्पर्धी भयौं भन्ने फिल उहाँले अहिले गर्नुभएको छ । यो प्रतिस्पर्धालाई मैले सहज र स्वाभाविक ढंगले लिएकी छु । २०औं वर्ष निर्वाचित जनप्रतिनिधिबाट जनताले के पाए भन्ने प्रश्न खडा भएको छ,’ झाँक्रीले भनिन् ।
नयाँ पत्रिकामा खबर छ ।
सत्यपाटी । काठमाडौँ ।