सूचनाको शक्ति - The Power Of Information

        

नेपाल मेडिसिटी अस्पताल : प्रविधि, पूर्वाधार र जनशक्ति अन्तराष्ट्रियस्तरको, न्यून शुल्क


ललितपुरको नख्खुस्थित नेपालकै सबैभन्दा ठूलो अस्पताल नेपाल मेडिसिटी सञ्चालनमा आएको ६ महिना पुगेको छ । गैरआवासीय नेपाली संघका संस्थापक डाक्टर उपेन्द्र महतोको लगानीमा सञ्चालनमा आएको अस्पताल ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । ३० रोपनी क्षेत्रफलमा आधुनिक भवन छ । अस्पताल सञ्चालनमा आएसँगै विरामीको चाप पनि बढ्न थालेको छ । ६ महिना पुग्दा ओपिडीमा दैनिक छ सयभन्दा बढी बिरामी आउने गरेका छन् । के मेडिसिटी आम नेपालीको पहुँचमा छ । अन्य अस्पतालको तुलनामा यसमा के भिन्नता छ । मेडिसिटी नै किन रोज्ने लगायतका भन्ने विषयमा नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालसँग गरिएको कुराकानी :

नेपाल मेडिसिटी सञ्चालनमा आएको छ महिनाका उपलव्धि कस्तो छ ?
– अस्पतालमा नेपाली नागरिकको अन्तिम विश्वास लिने क्रममा छौँ । उपचारकोे लागि विदेश जान रोक्ने गरी अस्पताल सञ्चालनमा ल्याएका हौँ । त्यही अनुसार उपचार गर्न विदेश जानुभन्दा अघि मेडिसिटी आउनु पर्छ भन्ने हामीले गराएका छौँ, गराउँदै छौँ । यसमा हामी सफलतातिर गइरहेका छौ जस्तो लागेको छ ।

अर्बाै लगानी लगाउनु भएको छ । यही क्षेत्रमा यति ठूलो लगानीको उद्देश्य के राख्नु भएको छ ?
– नेपालमा सबैभन्दा बढी वृद्धि भएको क्षेत्र सेवा क्षेत्र हो । त्यसमा पनि शिक्षा र स्वास्थ्य क्षेत्रको बढी योगदान छ । यी क्षेत्रमा राज्यको र नीजि क्षेत्रको लगानी बढी रहेको छ । तुलनात्मक रूपमा स्वास्थ्यभन्दा शिक्षा क्षेत्रले बढी फड्को मारेको देख्न सकिन्छ । यस्तो अवस्थामा सरकार सँगसँगै नीजि क्षेत्रले पनि लगानी वृद्धि गरेर जानुपर्छ भनेर लागेका हौ । विदेशी पनि नेपालमा उपचार गर्न आउने वातवरण बनाउन पनि हामीले यति ठूलो लगानी गरेका छौँ । हामीले हाम्रो उद्देश्य पनि मिट गरिरहेका छौँ ।

ठूलो रोग लाग्ने र उच्च वर्गका परिवार चाहेर पनि नेपालमा उपचार गराउने अवस्था छैन भने मध्यम तथा निम्न आर्थिक अवस्था भएको व्यक्ति रोग पालेर बस्नु पर्ने स्थिति कायम छ हैन ?
– हो तर, हाम्रो देशबाट ठूलो मात्र नभई सानो रोगको उपचारको लागि समेत प्रत्येक वर्ष दुई लाख नेपाली विदेश उपचारमा गएका छन् । यसमध्ये ९० प्रतिशत भारतमा गएका छन् भने १० प्रतिशत अन्य विभिन्न राष्ट्रामा गएका छन् । यसो गर्दा उपचारको क्रममा प्रत्येक वर्ष २६ अर्ब रुपैयाँ बाहिरिएको छ । यो तथ्यांक प्रस्तुत गर्दागर्दै अब पनि हामी ठूला घरनाहरू स्वास्थ्य क्षेत्रमा लगानी विस्तारतर्फ लागेनौ भने स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्न सकिने स्थिति हुँदैन । त्यसैले हामी सरकार । सँगसँगै स्वास्थ्य क्षेत्रमा लगानी विस्तार गरेर अघि धढ्नु पर्छ भन्ने मान्यता राखेर अहिले यहाँ छौँ ।


नेपाल मेडिसिटी नै किन ?
हामी (नेपाल मेडिसिटी अस्पताल)ले तीनवटा कुरामा ध्यान दिएका छौँ । यी तीन कुरा भनेको पूर्वधार, प्रविधि र जनशक्ति हो । पूर्वाधार हामीले विश्वस्तरीय तयार गरेका छौँ । विश्वस्तरीय मापदण्ड पूर्वाधारमा हामीले पूरा गरेका छौँ । त्यस्तै प्रविधि विश्वको जतिसुकै नयाँ प्रविधि पनि हामीले भित्र्याएका छौँ । र नाम चलेका विश्वस्तरमा उत्कृष्ठ मानिएका चिकित्सकहरू हामीसँग हुनुहुन्छ ।

तपाईहरुले मेडिकल पर्यटक भित्र्याउने आश्चार्यजनक कुरा गर्नु भएको थियो, यो बीचको उपलव्धि कस्तो छ त ?
यो प्रविधि पूर्वाधार र जनशक्ति उत्कृष्ठ भएपछि विश्वको जुनसुकै राष्ट्रमा दिइने सेवा हामी दिन सक्छौँ । यो सुविधा दिनसक्ने भएपछि मेडिकल टुरिजमको कन्सेप्ट अघि सारेका थियौँ । सोही लक्ष्य अनुसार हामीले काम सुरू गरिसकेका छौँ । अहिले विश्वका धेरै राष्ट्रबाट हाम्रोमा उपचार गर्न आइरहेको अवस्था छ ।

यहाँ कुन देशबाट उपचार गर्न आएका छन् त ?
– नेपालमा विभिन्न राष्ट्रबाट पर्यटक आउनुभएको छ । उहाँहरुले स्वास्थ्य चेकजाच गर्ने क्रममा हामीलाई नै सम्झनु भएको छ । हामीकहाँ मेडिलिस्ट राष्ट्र भुटान, अफ्रिका र दक्षिण अफ्रिकाबाट स्वास्थ्य चेकजाचको लागि नै आउने गर्नु भएको छ ।

विदेशी त भित्र्याउन थाल्नु भयो आम नेपालीको पहुँचमा यो अस्पताल छ त ?
– मेडिसिटी अस्पताल नेपालीको पहुँचमा छ । नेपालमा रहेका अन्तर्राष्ट्रियस्तरका वा ठूला अस्पतालको भन्दा हाम्रो शुल्क न्यून छ । यसको मुख्य कारण हामीसँग भएका सबै डाक्टर पूरै समय मेडिसिटीलाई दिनुहुन्छ । यसको मतलव अन्य अस्पतालमा उहाँहरुले काम गर्न नपाउने शर्तसहित काम गर्नुभएको छ । यसकारण पनि हाम्रो शुल्क थोरै र सेवा गुणस्तरिय रहेको छ ।

अस्पातलबाट विमाका कार्यक्रम पनि अघि सार्नु भएको थियो के भएको छ ?
– वर्षको १२ सय तिरेर ५० हजारसम्मको विमा कार्यक्रम सुरू गरेका छौँ । त्यो पनि क्यासलेस । यसकारण पनि आम नेपालीको पहुँचमा हामी पुग्न सजिलो भएको छ ।


कसरी गर्ने विमा ?
– सरल प्रकिया छ । मेडिसिटी अस्पताल वा देशभरका प्रिमियम इन्सुरेन्सका कार्यालयबाट इन्सुरेन्स गर्न पाइन्छ । यहाँ गएर दिइएको फारम भर्ने र शुल्क तिर्ने । अनि आफ्नो स्वास्थ्य प्रति ढुक्क भएर बस्ने ।

तपाईले उत्कृष्ठ जनशक्ति भनिसक्नु भयो यहाँका डाक्टरहरुका बारेमा जानकारी गराउनु न ?
– हाम्रा सम्पूर्ण डाक्टर उत्कृष्ठका आधारमा विश्वमा ख्याति प्राप्त हुनुहुन्छ । सबै डाक्टर आम नेपाली हुनुहुन्छ र सबैको मन जित्न सक्नु हुन्छ । नेपाल मेडिसिटीका दुईवटा सिद्धान्त छन् । खासगरी कोही नेपाली उपचार गर्न विदेश जान नपरोस् विदेशबाट नेपाल उपचार गर्न आउने वातवरण बनोस् । अर्काे कुरा विश्वभर रहेका नेपाली डाक्टर नेपाल आएर काम गर्न सक्ने वातवरण होस भन्ने हो । हामीसँग सबै जोडिन नचाहन पनि सक्नुहुन्छ । हामी शर्त त्यस्तै छन् सबै समय हामीलाई उपलव्ध गराउनुपर्ने हुनुहुन्छ । हामीकहाँ विशेषगरी तीन प्रकारका डाक्टर हुनुहुन्छ । स्वास्थ्य चेकजाँच, अनुसन्धान र शिक्षा । प्रत्येक दिन अनुसन्धान र शिक्षाका कार्यक्रम पनि हामीले सँगै अघि बढाएका छौँ । यसकारण पनि हाम्रा डाक्टर र हाम्रो अस्पताल विश्वस्तरीय रहेको छ ।

६ महिनाको अवधिमा अस्पतालमा सेवाग्राहीको धारणा कस्तो पाउनुभएको छ ?
– काठमाडौंका ठूला अस्पतालको तीन वर्षको आँकडा हामीले ६ महिनामा पूरा गरेका छौँ । ६ महिनाको अवधिमा विशेष प्रकारका पाँच हजार शल्यक्रिया गरेका छौँ । यी आँकडाले पनि विश्वस्तरिय सेवा दिएको अनुभव हुन्छ । हामीले विरामीको सुरक्षा र सेवामा गुणस्तर कुनै पनि हिसावले कमी आउन दिएका छैनौ । हामी छोटो समयमा विश्वस्तरीय स्वास्थ्य संगठनको रुपमा चिनिएका छौँ ।

र अन्त्यमा अन्य अस्पतालमा नभएको सुविधा यस अस्पतालमा के छ ?
– मैले धेरै कुरा चर्चा गरिसके पूर्वाधार, जनशक्ति र प्रविधिका कुरा भइसके । यसको साथै नेपालमा कसैले नगरेको हामीले आइसियुमा रहेका विरामीलाई पनि रिफर गर्न सक्छौ । हेलिकप्टरमा आइसियु लगाएर अन्त रिफर गर्न सक्ने वा विदेशबाट लिन सक्ने अवस्थामा हामी छौ । अस्पतालको छतमा नै हेलिप्याड छ । अन्य अस्पतालमा नभएका धेरै सुविधा हामीकहाँ छन् । हामीले प्रचारप्रसारमा नलागी हाम्रो बेड अभाव हुने स्थिति छ । साढे दुईसय बेडबाट सुरु गरेकोमा अहिले साढे पाँच सय पुग्दा पनि बेड अभाव भइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार ०९:१४