सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन सुरक्षाका लागि बुवा र छोरा एकसाथ म्यादी प्रहरीमा भर्ना

साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् । आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राजेन्द्र बास्कोटा र उनका छोरा आदेश बास्कोटा एकसाथ भर्ती भएका हुन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा खटिएका बास्कोटाले यसपटक भने छोरालाई पनि सँगै लिएर गएका छन् । छोराको अहिले क्याम्पस बिदा भएको हुँदा फुसर्दको समयको सदुपयोग गर्न र केही नयाँ सिक्दै आयआर्जन गर्न म्यादीमा भर्ना भएको बास्कोटाले बताए ।

सुरक्षा निकायसँग जोडिन पाउने, फुसर्दको समय सदुपयोग हुने र निर्वाचनमा पनि प्रत्यक्षरूपमा भाग लिन पाइने भएकाले अघिल्लोपटक म्यादीमा गएका राजेन्द्र यसपटक पनि भर्ती भएका हुन् । अघिल्लो पटक काम गर्दाको सुखद् अनुभवका कारण पनि म्यादीमा फेरि भर्ती हुन प्रोत्साहन मिलेको उनले बताए ।

बाहिर बस्दा मेहनत गर्ने बानी एकदमै धेरै हुन्छ । त्यहीँ मेहनत गर्दागर्दै कोरियामा नै उनी दुर्घटना परेका थिए । दुर्घटनामा हातमा गम्भीर चोट लागेकाले केही समयको उपचारपछि उनी स्वदेश फर्किए । मशिनमा परेको उनको हात स्वदेशमा थप उपचारपछि तन्दुरुस्त त भयो तर हातलाई दबाब पर्ने काम गर्न नमिल्ने र केही समय आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिए ।

हात विस्तारै ठीक हुँदै गएपछि म्यादीमा जान सकिने सोचेर उनी अघिल्लोपटक नै भर्ती भएका थिए । त्यसो त गत स्थानीय चुनावमा म्यादीमा खटिएकैलाई नेपाल प्रहरीले यसपटक पनि प्राथमिकता दिएको छ । वैशाखकै स्थानीय तहको निर्वाचनमा म्यादीमा जान रुचि देखाएका छोरा आदेश भने पढाइकै कारण सहभागी हुन पाएका थिएनन् ।

यसपटक भने नियमित कलेज जानु नपर्ने, घरमा बसेर समय व्यतित गर्नुभन्दा नयाँ अनुभव हुने र सुरक्षा निकायसँग जोडिएर केही सिक्न पाइने हुँदा म्यादीमा भर्ती भएको आदेशले बताए । आदेश विज्ञान संकायअन्तर्गत भौतिक शास्त्रमा एमएससी गर्दैछन् ।

काम सानोतिनो नहुने र आफूलाई जे सहज लाग्छ त्यो गर्न सकिने सोचेर म्यादीमा भर्ती भएको उनको भनाइ छ । आदेशलाई आफ्नो शैक्षिक उपाधिसँगै लोकसेवातर्फ पनि रुचि छ । उनले अहिले पनि राष्ट्रिय परीक्षा बोर्डका लागि तयारी गर्दैछन् । उनले यसअघि नेपाल प्रहरीमा रोजगारीका लागि प्रयास गरेको भएपनि अन्तर्वार्तामा छनोट हुन सकेनन् ।

लोकसेवामा रुचि रहेकाले उमेर छउञ्जेल सरकारी सेवाकै लागि प्रयास गरिरहने उनी बताउँछन् । फुसर्दको समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नमा शिक्षित युवाहरू पनि अगाडि सर्नुपर्ने बुवा राजेन्द्र बताउँछन् । काम सानोठूलो नहुने भएकाले शिक्षित भन्दैमा काम गर्न हिच्किचाउन नहुने छोरा आदेशको बुझाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १८:३६