सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्ष बित्नै लाग्दा पनि बनेन पुल

सम्झौताको तीन वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिका–९ सेहरीको झोलङ्गे पुल सम्पन्न हुन सकेको छैन ।

वडाको राजिफाँटा र बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न निर्माण थालिएको उक्त पुलको हालसम्म पिल्लर निर्माण बाहेकका अरु काम हुनसकेको छैन । वडा कार्यालयमा सेवा लिन आउने वडावासीले–८ भएर आउनुपर्ने बाध्यता अन्त्य गर्न निर्माण थालिएको उक्त पुलको दुवै तर्फका पिल्लर बनाउने काम मात्रै भएका छन् ।

पूर्व वडाध्यक्ष लहानु चौधरीले बल्मीवासीलाई वडा कार्यालयसँग जोड्न पुल निर्माण सुरु गरिएको बताए । उनले बल्मी र राजिफाँटावासीलाई वडा नं ८ स्याउलेबजार घुमेर वडा कार्यालय जानुपर्ने बाध्यता अन्त्य गर्न पुल निर्माणका लागि माग गरिएकामा सो अनुसार काम सुरु भएपनि ढिलाई भएको बताए ।

‘सुरुवाती चरणमा तीब्र गतीमा काम भएको थियो, तर पछि काम रोकियो, सामग्री अभाव भएको भन्ने बुझ्नमा आएको छ,’ वडाध्यक्ष चौधरीले भने, ‘पुल निर्माण भए स्थानीयबासीका लागि छोटो र सजिलोसँग यात्रा गर्न सहज हुन्थ्यो ।’ स्थानीयवासी ठग्गुराम चौधरीले वडा कार्यालयमा सेवा लिनका लागि सहज होस् भनेर बनाइएको पुल छिटो निर्माण हुनुपर्नेमा ठेकेदारको लापर्बाहीका कारण ढिलाइ भइरहेको गुनासो गरे ।

‘पारीपट्टि वडाकै दुई वटा टोल छन्, उनीहरुको आवतजावतमा सहजताका लागि पुल बनाइएको हो,’ उनले भने, ‘त्यतिमात्रै होइन, हामी थारु समुदायको भल्का पनि उस्तै छ, त्यहाँ पूजा गर्नलाई पनि हामीलाई पुल भए एकदमै सहज हुन्थ्यो । वडावासीको आवश्यकता महसुस गरेर करिब तीन वर्षदेखि सुरु गरिएको पुल हालसम्म पनि निर्माण सम्पन्न नहुनु दुःखद भएको छ ।’

सोही वडाकी कमल पुल रानाले पनि पुल बनेको भए खुटिया नदी पारीपट्टीका राजिफाँटा र बल्मीमा तरकारी बेचबिखन गर्न जान सहज हुने बताए । ‘खोलामा पानी कम हुँदा खोला तरेरै पनि तरकारी बेचबिखन गर्न जान्छौँ,’ उनले भने, ‘खोलामा बाढी आउँदा तरकारी बेच्न सकिँदैन, वर्षात्को समयमा बारीमा फलेको तरकारी कुहिने डरले सताउने गर्छ । सेहरीबाट स्याउले बजार आउने बाटो भए पनि साधन नहुँदा बजारसम्म तरकारी पुर्याउन समस्या हुन्छ ।’

‘पुल भए यताबाट हामीलाई वडा कार्यालय पुग्न एक किलोमिटर लाग्छ,’ राजिफाँटाका गोविन्द नेपालीले भने, ‘तर अहिले पुल नहुँदा छ किलोमिटर घुमेर हामीले स्याउले बजारबाट वडा कार्यालय जानुपर्ने बाध्यता छ ।’ उनले वडा कार्यालयको कामका लागि मात्रै नभइ वर्षमा अन्नको जोहो गर्न पनि सेहरी धनचौरीतिर जानुपर्ने भएकाले छिटो पुल बने सहज हुने बताए ।

वडा नं ९ का अध्यक्ष रामलाल रानाले आफू निर्वाचित हुने वित्तिकै पुलको यथासक्य निर्माणका लागि ठेकेदारलाई निर्देशन दिएको बताए । उनले ठेकेदारले झोलुङ्गे पुलका लागि लठ्ठा अभाव भएकाले त्यसको जोहो गरेर निर्माण सुरु गर्ने जनाएको जानकारी दिए । वडाध्यक्ष रानाले भने, ‘ठेकेदारले छ महिना समय थप भएको र लठ्ठा अभाव भएकाले विराटनगरबाट लठ्ठा ल्याइरहेकाले मङ्सिरभित्र पुल निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १७:१६