सूचनाको शक्ति - The Power Of Information

        

रहेनन् शताब्दी पुरुष

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीले २०१३ सालमा पहिलो पटक मदन पुरस्कार पाएका थिए । तीन पटक मदन पुरस्कार पाउने जोशी एक्ला हुन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज (आइतबार) बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पुष्टि गरे । जोशी असोज ७ गते किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।

१९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा शंकरदास जोशी र नोगलदेवीको कोखबाट जोशी जन्मेका हुन् । जोशीले २०१३ सालमा पहिलो पटक हाम्रो लोक संस्कृति ग्रन्थ लेखेकाले मदन पुरस्कार पाएका हुन् । योसँगै जोशीले नेपाली राष्ट्रिय मुद्रा र कर्णाली लोक संस्कृति लेखेकाले तीन पटकसम्म मदन पुरस्कार पाए ।

तीन पटक मदन पुरस्कार पाउने जोशी एक्ला हुन् । जोशीले सुप्रबल गोर्खा दक्षिण बाहु बिख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार पाइसकेका छन् भने सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरिसकेको छ । जोशीका नेपाली र नेपाल भाषा गरी ५० भन्दा बढी कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०८:३१