सूचनाको शक्ति - The Power Of Information

        

२०७९ असोज ३० गतेको राशिफल : सिंहलाई अवसर, मकरलाई हौसला

२०७९ असोज ३० गते, आइतवार, १६ अक्टोबर २०२२ । कार्तिक कृष्णपक्ष षष्ठी तिथि, प्रातः ६ः०६ बजेदेखि सप्तमी । आर्द्रा नक्षत्र । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्च बढ्नेछ र काममा पनि समस्या आउन सक्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आँटेको काम तत्काल बन्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला । रोकिएको काम बन्न थाल्नेछ । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ । नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

कामबाट सोचेको नतिजा प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । कीर्तिमानी काम गर्ने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । सामाजिक दायित्व बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताले काममा जुट्न नसकिएला । आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । आम्दानी भए पनि धन संग्रहमा बाधा पुग्नेछ । बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

घुमफिर तथा मनोरञ्जनको समय छ । तर अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । चुनौतीपूर्ण कामको दायित्व लिनाले व्यर्थैमा दुःख पाइनेछ । निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । फाइदा लिन काम दोहोर्याउनुपर्ला । अरूको विश्वास गर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पहिलेको सफलताले हौसला जगाउनेछ । पछिका लागि विशेष काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, मनग्य फाइदा उठाउन सकिनेछ । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीलाई हराउँदै उपलब्धि हातपार्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्त्याउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । प्रयत्न गर्दा पहिले फसेको रकम उठाउन सकिनेछ । सामान्य काम बन्नेछन् तर पहिलेको साख जोगाउन अलि कठिन पर्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग होला । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला । योजना तत्काल सार्वजनिक नगर्नुहोला । कृषिकर्मबाट सामान्य लाभ हुनेछ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । अरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०६:५१