सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोको कहर

कर्णालीमा साढे १० हजार नागरिक घरबारबिहीन

‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको खिड्कीज्यूलामा ठुलो ढुंगा खस्दा अवरुद्ध भएको सडक ।

बाढीपहिरोका कारण कर्णाली प्रदेशमा १० हजार ७१४ जना घरबारबिहीन भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै मुगुमा पाँच हजार २८२ जना घरबारबिहीन भएका छन् ।

त्यस्तै कालिकोटमा एक हजार ७६३, जुम्लामा एक हजार ७२५, सल्यानमा ६३९, सुर्खेतमा ५६६, हुम्लामा ४७४, दैलेखमा २०७, डोल्पामा २५, जाजरकोटमा १८ र रुकुम पश्चिममा १५ जना घरबारबिहीन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिरोबाट कर्णालीमा एक हजार ७२० घरधुरी विस्थापित भएका छन् । जसमा मुगुमा ७२३, जुम्लामा ३६८, कालिकोटमा २३५, सुर्खेतमा १३९, सल्यानमा १२७, हुम्लामा ७३, दैलेखमा ४४, डोल्पा र रुकुम पश्चिममा ४–४ र जाजरकोटमा ३ घरधुरी विस्थापित भए ।

यस्तै बाढी पहिरोमा परेर कर्णालीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिरोबाट जुम्लामा १० जना, मुगुमा ८, कालिकोटमा ६, हुम्लामा ४, जाजरकोट सल्यानमा ३–३, दैलेख र डोल्पामा १–१ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परेर कर्णाली प्रदेशको कालिकोटमा सबैभन्दा धेरै १७ जना बेपत्ता भएका छन् भने दैलेख, जुम्ला र डोल्पामा १–१ जना गरी २० जना बेपत्ता भएका छन् । तीमध्ये एक जना नेपाल प्रहरीका जवान रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बाढी पहिरोमा परेर कर्णालीमा २८ जना घाइते भएका छन् । सबैभन्दा धेरै कालिकोटकै १० जना घाइते भएका छन् भने हुम्लामा ६ जना, मुगु र जुम्लामा ५–५ जना तथा जाजरकोट र रुकुम पश्चिममा १–१ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा पूर्णरुपमा एक हजार १४० घर भत्किएका छन् भने आंशिक एक हजार ६१२ घर भत्किएका छन् । त्यस्तै बाढी तथा पहिरोबाट उच्च जोखिममा एक हजार ४७७ घरधुरी रहेका छन् ।

पाँच दिनसम्म लगातार भएको बर्षाका कारण पानीले कर्णाली प्रदेशको मुगुमा २५१, हुम्लामा २१७ र सल्यानमा ६४ गरी २४६ पशुचौपायको मृत्यु भएको छ । बाढी पहिरोका बेला उद्धार तथा राहत वितरणमा प्रदेशभर दुई हजार ७०४ जना प्रहरी परिचालन गरिएको थियो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा ७५० जना, सल्यानमा ५८०, जुम्लामा २६५, रुकुम पश्चिममा २२९, कालिकोटमा २२५, जाजरकोटमा २१७, सुर्खेतमा १९४, हुम्लामा ११४, दैलेखमा ८०, र डोल्पामा ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) पोषराज पोखरेलले बेपत्ता व्यक्तिहरुको खोजी कार्यसँगै अन्य क्षतिको विवरण संकलनका लागि नेपाल प्रहरी अहिले पनि प्रभावित क्षेत्रमा खटिइरहेकाले उल्लेखित विवरणमा थपघट हुनसक्ने जानकारी दिए ।

पहिरोले कर्णाली क्षेत्रको अवरुद्ध यातायात आंशिकरुपमा सञ्चालनमा आए पनि पूर्णरुपमा यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्नेछ । कर्णाली राजमार्ग कर्णाली करिडोर (हुम्ला जाने), रत्न राजमार्गसहित जाजरकोट, दैलेख जाने सडकहरुमा ठूलो क्षति भएको छ ।

‘पूर्णरुपमा विच्छेद भएको सडक सञ्जाल आंशिकरुपमा सञ्चालनमा आएको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने, ‘पूर्णरुपमा विच्छेद भएको कर्णाली करिडोर र कर्णाली राजमार्ग खुल्न अझै महिना दिन बढी लाग्ने देखिन्छ ।’

उनका अनुसार मुख्य राजमार्ग मात्र नभएर कतिपय सहायक राजमार्गहरु पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । पहिरोले दर्जनौं स्थानमा राजमार्ग अवरुद्ध भएपछि राहत र उद्धारमा पनि कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विस्थापितहरुलाई सरकारले हेलिकप्टरमार्फत राहत वितरण गरिरहेको पनि डिआइजी पोखरेलले जानकारी दिए । सडक सञ्जाल विच्छेद भएपछि हेलिकप्टरमार्फत टेण्ट, कम्मलसहित अन्य राहतका सामाग्री बाढी पहिरो प्रभावित जिल्लामा पुर्याइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार १८:२७