सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसका तीन मन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश सरकारबाट कांग्रेस आबद्ध दलका मन्त्रीहरुलाई मात्र हटाएका छन् ।

संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई हटाएको २४ घण्टा नबित्दै जसपा नेतृत्वको मधेश सरकारबाट पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस आबद्ध तीन जना मन्त्रीहरुलाई हटाएका छन् ।

मुख्यमन्त्री राउत कांग्रेसबाट मन्त्री बनेकाहरुलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई हटाइएकोबारे मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई लिखित रुपमै जानकारी गराएका छन् ।

मुख्यमन्त्री राउतको सिफारिसमा मन्त्रीहरुलाई पदमुक्त गरिएको बारे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता शत्रुधन यादवले एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गर्न गरिएको सिफारिस अनुसार तिनीहरुलाई पदमुक्त गरी ती मन्त्रालयहरुको जिम्मेवारी मुख्यमन्त्रीले सम्हाल्ने तोकिएको जनाइएको छ ।

गठबन्धनमा रहेर प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेका भन्दै गठबन्धन आबद्ध जनता समाजवादी पार्टीका चार जना मन्त्रीलाई हटाएपछि मधेश सरकारबाट कांग्रेसबाट भएका मन्त्रीहरु हटाउने बिहीवार नै मुख्यमन्त्रीले मनसाय बनाइ सकेका थिए । तर पनि उनले आज बिहान ११ बजेसम्मको समय स्वेच्छाले राजीनामा दिनका लागि दिएका थिए । मन्त्रीहरुले राजीनामा नदिएपछि करिब १२ बजेतिर तिनीहरुलाई हटाइको बारे प्रदेश प्रमुखलाई लिखितरुपमा जानकारी गराएको थियो ।

गठबन्धन दलका कांग्रेसका मन्त्रीहरुलाई हटाए पनि प्रदेश सरकारमा गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरु यथावत छन् । मुख्यमन्त्री राउतले बिहीवार साँझ नै कांग्रेसका मन्त्रीहरुलाई फोन गरेर भनेका थिए, ‘हामी सौहार्दपूर्ण अवस्थामा थियौं, तपाईको पार्टीले संघीय सरकारबाट आफ्नो पार्टीका मन्त्रीलाई हटाइ दिएको छ । यस्तो अवस्थामा तपाईहरु स्वेच्छाले राजीनामा दिइदिनुस्, नत्र बाध्यतावश हटाउनुपर्नेछ ।’ जसको पुष्टि कांग्रेसका मन्त्री एवं दलका नेता रामसरोज यादवले गरेका थिए ।

मुख्यमन्त्रीको सुझाव प्रति मन्त्री यादवले हामीले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्दा राजीनामा नदिनू भनेका थिए । सो निर्देशन अनुसार हामीले राजीनामा नदिएपछि आफूहरुलाई हटाइएको मन्त्री यादवले बताएका छन् । उता मुख्यमन्त्री राउतले गठबन्धन अनुसार संघ र प्रदेशमा पनि सरकार गठन भएको थियो । अरु दलसँग चुनाव तालमेल गरेको आवेशमा हाम्रो पार्टीको मन्त्रीहरुलाई हटाएपछि उनीहरुले आफै स्वेच्छाले राजीनामा नदिएपछि बाध्य भएर हटाउनु परेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १६:२०