सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा बेवास्ता

विद्यालयका संरचना भत्किएपछि त्रासमा अध्ययन गर्दै विद्यार्थी

विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु बाध्य भएर निजी विद्यालय रोज्ने गरेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्राथमिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनीय बनेको छ । बैजनाथ गाउँपालिका–८ गुरदयालपुरको श्री लक्ष्मी प्राथमिक विद्यालयको अवस्था पनि डरलाग्दो छ ।

वि.सं.२०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन । बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी सङ्ख्या उल्लेख्य भए पनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटिरहेका छन् ।

विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । विद्यालयका भौतिक संरचनाहरु जीर्ण अवस्थामा छन् । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् ।

गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको बताउँछन्, बैजनाथ गाउँपालिका–८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत । उनका अनुसार पाँच वर्षमा विद्यालयको फर्निचर निर्माणका लागि एक लाख मात्र बजेट विनियोजित भएको छ ।

विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदिएको प्रधानाध्यापक सुरेशकुमार थारुले जानकारी दिए । उनका अनुसार विद्यालयमा पाँच कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिएको प्रधानाध्यापक थारुको गुनासो छ । उक्त विद्यालयमा जम्मा ४६ विद्यार्थी रहेका छन् ।

स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको प्रधानाध्यापक थारुको भनाइ छ । विद्यालय विकास समितिका सदस्य राधेश्याम थारुले विद्यालय विकास समितिले विद्यालयको मर्मत सम्भारका लागि वडाबाट अहिलेसम्म एक लाख रुपैयाँमात्र उपलब्ध भएको बताए ।

यसअघिको विकास समितिले केही नगरे पनि पछिल्लो समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको उनले जानकारी दिए । विद्यालय स्थापना भएको चार दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको सदस्य थारुको भनाइ छ ।

विद्यालयका सबै भवन भत्केर जीर्ण अवस्थामा रहेका छन्, तर जीर्ण संरचना मर्मत हुने छाँटकाँट देखिँदैन । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्य जस्तै छ । भवन जीर्ण हुँदा छतबाट पानी चुहिन्छ । विद्यार्थी निकै त्रासमा छन् । विद्यालयको भौतिक सुधारका लागि पहल गरिरहेका सदस्य थारु बताउँछन् ।

आवश्यक सामग्रीहरु पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरुको भनाइ रहेको छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छाना नै उडाउने जस्ता समस्या रहेको उनीहरु बताउँछन् । विद्यालयका पूर्वाधार जीर्ण छन् भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार १५:४३