केही दिनदेखि कोहलपुरस्थित ‘होटल म्याक्स’मा जुवा चलिरहेकै थियो । उक्त होटल इलाका प्रहरी कार्यालयदेखि झण्डै ५०० मिटरको दुरीमा पर्छ । तलदेखि माथिसम्मै सेटिङ्ग भएकोले त्यहाँ केही दिनदेखि निर्धक्क चलिरहेको थियो । त्यहाँ प्रहरीका घुमुवाको ‘सेन्ट्री’ (ड्युटी) थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुर स्रोतका अनुसार त्यहाँ इन्चार्जले खटाएका केही घुमुवाहरुले ‘सेन्ट्री’ गरिरहेका थिए । ‘सेटिङ्ग भएकै कारण त्यहाँ घुुमुवा र सादा पोसाकमा इन्चार्जले ड्युटी खटाएका थिए,’ स्रोतले भन्यो, ‘खै सेटिङ्ग नमिलेरै होला जुवा चलिरहेकै बेला होटल म्याक्समा छापा मारियो ।’
चाडपर्वलाई लक्षित गरेर कोहरपुर क्षेत्रमा अघोषितरुपमा ‘सेटिङ्ग’मा जुवा खुल्ला गरिएको स्रोतको भनाई छ । एक जना प्रहरीकै शब्दमा ‘चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएका ‘जुवा अखडा’ प्रहरीको कमाउधन्दाका रुपमा परिणत भएका थिए । ‘खै अहिले कहाँ के बिग्रिएर छापा मारियो हामीलाई थाहा हुँदैन,’ ती प्रहरीले भने ।
उनका अनुसार तल्लो तहका प्रहरी कर्मचारी माथिको आदेश पालकमात्रै हुन् । उनले भने, ‘अहिले चाडपर्वका बेला शान्ति सुरक्षा कायम गर्न घुमुवा र सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरु सूचना संकलनको सट्टा ‘जुवा अखडा’हरुको संरक्षण गरी कमिसन संकलनमा व्यस्त हुनु राम्रो होइन । तर के गर्नु ? बाध्यता छ, हाकिमको आदेश मान्नैपर्छ ।’
दुरीका हिसाबले झण्डै ५०० मिटर टाढा रहेको ‘होटल म्याक्स’मा प्रहरीकै संरक्षणमा ‘जुवा अखडा’ चल्ने गरेको कोहलपुरका नागरिकहरु बताउँछन् । ‘जुवाडे र प्रहरीबीच कमिसनमा ‘बार्गेनिङ्ग’ मिलेसम्म प्रहरीले नै ‘सेन्ट्री’ दिन्छ, नमिलेपछि छापा मार्छ, प्रहरीको सुरक्षा आश्चार्य लाग्दो छ,’ कोहलपुरका स्थानीय रविन्द्र पौडेलले भने ।
‘कहिलेकाँही बार्गेनिङ्ग नमिल्दा वा जुवाडे र प्रहरीबीच समन्वय नहुँदा समस्या आउने हो । नत्र कोहलपुर क्षेत्र जुवाडेहरुका लागि ‘इजी–जोन’ नै हो,’ कोहलपुरका एक जना जानकारले भने, ‘नत्र पक्राउ परेकाहरुलाई रातारात किन छोडिन्छ ? यदी सेटिङ्ग नहुने हो भने कानुन अनुसार किन कारबाही हुँदैन ? यो खाली देखाउनका लागि मात्रै हो ।’
जुवाडे पक्राउ गरेको प्रहरीले के कारबाही गरियो भन्ने कुरा लुकाउने गरेको उनले बताए । बाँके जिल्लामै अहिलेसम्म पक्राउ परेका साना ठूला जुवाडेहरु पक्राउपछि कारबाही नै नभएर सहजै छुट्ने गरेको पनि उनले बताए । ‘यहाँ मात्रै नभएर बाँकेका अन्य क्षेत्रमा समेत संगठित समूहले ‘जुवा अखडा’ चलाइरहे पनि प्रहरी मौन छ,’ उनले भने ।
चाडपर्वलाई लक्षित गरी कोहलपुरमा ‘जुवा अखडा’ सञ्चालनमा आए पनि ‘बार्गेनिङ्ग’ नमिलेपछि मात्रै ती ‘जुवा अखडा’मा छापा मार्ने गरिएको उनले बताए । इलाका प्रहरी कार्यालय कोहलपुरले ‘सेटिङ्ग’ नमिलेपछि बिहीबार विहान कोहलपुरस्थित ‘होटल म्याक्स’बाट १२ जना जुवाडेलाई पक्राउ गरेको उनले बताए ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बिहीबार विहान ‘होटल म्याक्स’मा छापा मारेर दुई लाख ३१ हजार नगदसहित १२ जना जुवाडे पक्राउ गरेको छ । एलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जुवा खेल्दै गरेको अवस्थामा रंगे हात पक्राउ गरिएको बताएका छन् ।
सत्यपाटी । बाँके ।