सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

‘अब ठूलो पानी पर्दैन’

‘मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।’

मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो ।

दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पुर्यायो । बाढीपहिरोजन्य घटना पनि बढे ।

यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिक रूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताइन् । उनका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने सम्भावना रहे पनि भारी वर्षा हुने देखिँदैन ।

उनले भनिन्, ‘मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।’ राजधानी काठमाडौँ लगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १९:४७