सूचनाको शक्ति - The Power Of Information

        

एसपी चोख्याउन कस्टडीमा राखिएका हवल्दारले पाए सफाई

तीन महिनादेखि हिरासतमा रहेका सशस्त्र प्रहरीका हवल्दार नरेश साहु हिरासतमुक्त भएका छन् । उनलाई संगठनका गोप्य सूचना चुहाएको आरोपमा सशस्त्रले कारबाही अगाडि बढाएको थियो ।

तर सशस्त्रको अदालतले आरोप पुष्टि नहुने ठहर गर्दै फैसला गरेपछि सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत साहुलाई बुधबार हिरासतमुक्त गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले जानकारी दिए ।

‘उहाँमाथि जे आरोप लगाएर कारबाही अगाडि बढाइएको थियो त्यो पुष्टि भएन । हिजै हिरासतमुक्त गरिएको छ अब विभागीय कारबाही मात्रै हुन्छ । तर के कारबाही हुन्छ भन्ने फैसलाको पूर्णपाठ आएपछि थाहा हुन्छ,’ थापाले भने ।

हवल्दार साहु हाल निलम्बनमा छन् । उनलाई जागिरबाटै बर्खास्त गर्न लागिएको भन्दै सशस्त्रको आलोचना भएको थियो । असार २२ गते उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । हवल्दार साहुले सशस्त्रको ४४ नम्बर गणका सशस्त्रलाई बिदामा छाडेर रासनभत्तामा अनियमितता गरेको सूचना बाहिर ल्याएको आरोप लागेको थियो ।

गणभित्रको हाजिरी विवरणसहित सार्वजनिक भएपछि सशस्त्र प्रहरीले छानबिन गर्दै दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्ला घर भएका सशस्त्र प्रहरी हवल्दार साहुमाथि प्रारम्भिक रुपमा दोषी रहेको भन्दै हिरासतमै राखेर कारबाही अगाडि बढाएको थियो । सशस्त्रले भने उनले हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको आरोप लगाएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १९:३५