सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा वडाध्यक्षको नेतृत्वमा क्षतिको विवरण संकलन गरिने

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिएका छन् ।

बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उनले ६ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी, स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिएका हुन् ।

नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताए । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण नरैनापुर गाउँपालिकाका ६ वटै वडामा भएको क्षति विवरण वडा अध्यक्षको नेतृत्वमा बनेको बिपद् व्यवस्थापन टीमले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।

साथै बिपदको समयमा सहयोगका लागि विभिन्न संघ, संस्थालाई सहयोगको लागि अनुरोध गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणालीमार्फत पालिकाबाटै वितरण गर्ने, बर्षातका कारण क्षति भएका सार्वजनिक संरचनाहरू तत्काल पुनः निर्माण गर्ने, धानबाली क्षति विवरण नरैनापुर गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिए ।

बैठकमा गाँउपालिका अध्यक्ष समेत रहेका विपद समितिका संयोजक इश्तियाक अहमद शाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, विओपी कटकुइयाका दयाराम पौडेल लगायत गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार १८:००