सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

अबको दुई तीन दिन पछि मनसुन बाहिरिने सम्भावना, चिसो बढ्दै

अब ठूलो वर्षा भने नहुने

यसपालि मनसुनको अवधि लम्बिएको छ ।

नेपालमा मनसुनको अवधि गएको दुई तारिख अर्थात १६ गतेसम्म मात्रै रहने भनिए पनि मनसुन अझै बाहिरिएको छैन ।

मनसुन कायमै रहेकाले एक दुई दिन क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । तर, अब ठूलो वर्षाको सम्भावना भने नरहेको उहाँको भनाइ छ ।

अहिले काठमाण्डौसहित आसपासका क्षेत्रमा घाम लागेको छ । बेलुकी पख हल्का वर्षाको सम्भावना छ ।

बिहान केहीबेर प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा हल्का पानी परेको थियो । अब ठूलो वर्षा भने नहुने उहाँले बताउनुभयो ।

अबको दुई तीन दिनपछि पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने पनि मौसमविद्को भनाइ छ । मौसमविद् पौडेलले भन्नुभयो, ‘आउँदो शनिवार र आइतवार पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने अनुमान छ, तर आधिकारिक पुष्टि भने भइसकेको छैन ।’

यसैबीच, केही दिन लगातार झरी परेसँगै चिसो हुन थालेको छ । न्यूनतम र अधिकतम तापक्रममा खासै घटबढ नभए पनि लगातारको झरीका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परेको र राम्ररी घाम नलागेकाले चिसो महशुस भएको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०९:२०