ठूलो संघर्ष र बलिदानको बलमा राजतन्त्रको अन्त्य भयो । त्यसरी नै एकल धार्मिक आधिपत्य पनि अन्त्य भयो । अर्थात, धर्मनिरपेक्षतासँगै हिन्दू राज्य रहेन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै राजतन्त्र इतिहास बन्यो । पारिवारिक विरासतका आधारमा शासन गर्ने युगको अन्त्य भयो । जनता आफैले आफ्नो नेतृत्व चुन्ने व्यवस्था आयो ।
यस अर्थमा संघीय लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्र र हिन्दू राज्यको मुद्दा पश्चगामी हुन्छ । यतिखेर यी दुई मुद्दा लिएर दुई राजनीतिक दल चुनावी मैदानमा छन् । आश्चार्य लाग्दो कुरा– यी दुई दललाई जिताउन खुङ्खार गणतन्त्रवादी शक्ति लागिपरेको छ । राजतन्त्र सहितको हिन्दु राज्य राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य एजेण्डा हो । त्यसको नेतृत्व राजेन्द्र लिङ्देनले गरिरहेका छन् ।
राप्रपाबाट टुक्रेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजतन्त्र छोडेर हिन्दू राज्यको मात्र वकालत गर्छ । त्यसको नेतृत्व कमल थापाले गरिरहेका छन् । राजतन्त्र र हिन्दू आधिपत्य अन्त्य गर्दै स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रमा हिन्दुराज्य र राजतन्त्रको मुद्दा उठाउनु पश्चगमन मात्रै हुँदैन एक किसिमले व्यवस्था माथिकै प्रहार हो । उस्तै अवस्थामा हुन्थ्यो त यसलाई राज्यद्रोह मान्नु पर्थ्यो ।
‘लोकतन्त्र सबै फूलहरु फूल्न पाउने व्यवस्था हो’ भन्ने मान्यतामा हिन्दू राज्य र राजतन्त्रको मुद्दा उठाउनेहरूमाथि प्रतिबन्ध लागेको छैन । उनीहरूलाई अन्य दल सरह नै मान्यता दिइएको छ । तर, यसरी नै खुलेआम प्रहार हुँदै जाने हो भने ढिलो चाँडो वर्तमान व्यवस्था माथि संकट आइलाग्न सक्छ । एउटै मूलका दुई राप्रपाले खुलेर हिन्दू राज्य र राजतन्त्रको वकालत गरिरहेका छन् ।
भित्रभित्रै हिन्दू राज्य र राजतन्त्रको वकालत गर्नेको संख्या बढ्दै छ । त्यसमा पनि वर्तमान व्यवस्थाका लागि लडेका शक्तिहरू पनि लालायित देखिन्छन् । नेकपा एमालेले आफूलाई लोकतान्त्रिक शक्तिको रुपमा व्याख्या गर्छ । वर्तमान व्यवस्थाका लागि ठूलो संघर्ष गरेको धाक लगाउँछ । तर, एमालेको हरेक गतिविधि राप्रपाको पक्षमा देखिन्छ । अर्थात, हिन्दू राज्य र राजतन्त्रको पक्षमा देखिन्छ ।
अघिल्लो र आउन लागेको आम निर्वाचनलाई हेर्दा त्यो थाहा हुन्छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले आफूजत्रै कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रको साथ पाएको थियो । एमालेलाई जितका लागि समस्या थिएन । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजावादीको माया लाग्यो ! ०७४ को निर्वाचनमा एमालेले झापा–३ मा खुङ्खार राजावादी राजेन्द्र लिङदेनलाई देखिने गरी कुनै शर्त वा सम्झौता नगरी जितायो ।
आजसम्म पनि एमालेले राजावादी किन जितायो ? भन्ने प्रश्नको जवाफ जनताले पाउन सकेका छैनन् । ओलीको ‘राजावादी प्रेम’ २०७९ को आम निर्वाचनसम्म आइपुग्दा झनै बढेको देखिन्छ । यसपटक चार राजावादी नेतालाई जिताउने जिम्मा ओलीले लिएका छन् । आफ्नै नेताको टिकट खोस्दै राजावादीलाई जिताउने अभियानमा लागेका छन्, ओली । यस पटक पनि ओलीले राजावादी राजेन्द्र लिङ्देनलाई जिताउने जिम्मा लिएका छन् ।
झापा–३ बाट राजेन्द्र ओली अर्थात् एमालेकै उम्मेदवार हुन भन्दा फरक पर्दैन । त्यसैगरी, बाँके–२ मा अर्का राजावादी धवलशम्शेर राणालाई जिताउने जिम्मा पनि ओलीले नै लिएका छन्, त्यहाँ एमालेको उम्मेदवार छैन । राणा, राप्रपाका नेता हुन् । राजावादीको प्रेममा परेका ओलीले पार्टीका प्रखर र वौद्धिक नेता घनश्याम भुसालको टिकट खोसेर रुपन्देही–३ मा अर्का राजावादी दीपक बोहरालाई जिताउने भएका छन् । बोहरा पनि राप्रपाकै नेता हुन् ।
ओलीको राजावादी–हिन्दुवादी प्रेम यतिमा सीमित छैन । मकवापुर–१ बाट अकबरी हिन्दुवादी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जिताउने जिम्मा पनि ओलीले नै लिएका छन् । मकवानपुर–१ एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, ओलीले अन्तिम समयमा आफ्नो नेताको टिकट खोसेर कमललाई जिताउने बाचा गरे । त्यहाँ एमालेलको उम्मेदवार भनेकै कमल थापा हुन् । ओलीको गृहजिल्ला झापामा नेकपा एमालेको राम्रो पकड छ ।
सबै दल एक्लाएक्लै लड्दा मात्रै होइन, वर्तमान गठबन्धन र एमालको मत दाज्दा एमालेकै धेरै हुन्छ । तर, सोही झापामा एमालेले राप्रपाका दुई प्रदेशसभा सदस्य उम्मेदवारलाई जिताउने जिम्मा पनि ओलीले नै लिएका छन् । यसरी हेर्दा ओली र राजावादीबीचको सम्बन्ध आश्चार्यलाग्दो छ । ओलीलाई अनायसै राजावादी र हिन्दुवादीको माया लागेर आउने हो ? या हिन्दु राज्य र राजतन्त्र चाहन्छन् ? यो प्रश्नको जवाफ आज कतै भेटिँदैन । तर, राजावादीसँग ओलीको लसपल वर्तमान व्यवस्था माथिको प्रहारमा मलजल भने पक्कै हो ।
दृष्टि न्यूज
सत्यपाटी । काठमाडौं ।