सूचनाको शक्ति - The Power Of Information

        

कानुनकै बर्खिलाप

प्रतिनिधिसभामा महिला उम्मेदवार नौं प्रतिशत मात्रै

प्रमुख दलबाटै संविधान उल्लंघन, निर्वाचन आयोगको निर्देशन दलहरुद्वारा अटेरी

संविधानले प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरे पनि राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनतर्फ नौ प्रतिशत महिलालाई टिकट दिएको छ ।

निर्वाचन आयोगले दलहरूलाई एक तिहाइ सिटमा महिलालाई उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरूले भने उम्मेदवार चयनमा पुरानै प्रवृत्ति दोहोर्याएका छन् । आयोगको विवरणअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटमा देशभरबाट दुई हजार ४५२ जनाको उम्मेदवारी परेको छ ।

त्यसमध्ये महिला उम्मेदवारको संख्या २२९ मात्रै छ । प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० सिटमा तीन हजार ३२६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये महिला २८६ जना मात्रै छन् । आयोगका अनुसार कुल उम्मेदवारमध्ये महिलाको संख्या प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९.३३ प्रतिशत र प्रदेशसभामा ८.५९ प्रतिशत मात्रै छ ।

पाँच दलीय सत्ता गठबन्धनबाट र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट २५ जना महिलाले मात्र प्रत्यक्षतर्फ निर्वाचन लड्ने मौका पाएका छन् । जसअनुसार एमालेले ११, माओवादी केन्द्रले ७, कांग्रेसले ५, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक जना महिलालाई उम्मेदवार बनाएका छन् ।

एमालेबाट शान्ता चौधरीले दाङ–१, कोमल वली दाङ–३, नीरुदेवी पाल कञ्चनपुर–३, मञ्जु शर्मा चालिसे बागलुङ–२, जुलीकुमारी महतो धनुषा–३, ज्वालाकुमारी साह बारा–३, गौरी वली डोटी, मञ्जुकुमारी चौधरी उदयपुर–१, भगवती चौधरी सुनसरी–३, पद्माकुमारी अर्याल स्याङ्जा–२ र विद्या भट्टराईले कास्की–२ मै उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कांग्रेसबाट सुजाता कोइराला मोरङ–२, महालक्ष्मी उपाध्याय (डिना)लाई मकवानपुर–१, सीता गुरुङ तेह्रथुम, पुष्पा भुसाल अर्घाखाँची र चित्रलेखा यादवले सिरहा–२ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसले अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार बनाएको थियो, सबै पराजित भएका थिए ।

नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव एवम् ऊर्जामन्त्री पुम्फा भुसाल ललितपुर–३, पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२, मानुषी यमि भट्टराई काठमाडौं–७ , कल्पना धमलाले काठमाडौं–९ बिना मगर कञ्चनपुर–१ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै, दाङ–२ मा रेखा शर्मा र जुम्लामा गोमा कुँवरले उम्मेदवारी दिएको छ ।

नेकपा (एकीकृत समाजवादी)बाट सचिव रामकुमारी झाँक्रीले गुल्मी–२ मा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले प्यूठानबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि यहीबाट निर्वाचित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापाले मोरङ–३ मा उम्मेदवारी दिएका छन् ।

सत्ता गठवन्धनमा सिट भागबन्डामा सहमति जुट्न नसकेपछि बाहिरिएर नेकपा एमालेसंग गठवन्धन गरेको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ महिलालाई उम्मेदवार बनाएका छैनन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार १९:०८