सूचनाको शक्ति - The Power Of Information

        

महाभूकम्पको तीन वर्ष : सन्तोषजनक छैन पुनःनिर्माण प्रगति

काठमाडौं । नेपालमा विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ । तर, यो अवधिमा पुनर्निर्माणको प्रगति भने सन्तोषजनक छैन । भूकम्पबाट झन्डै १० लाख निजी घरमा क्षति पुगेको थियो ।
करिब साढे सात हजार विद्यालय, एक हजार दुई सय स्वास्थ्य संस्था र साढे सात सय सांस्कृतिक सम्पदामा क्षति पु¥याएको थियो । तर, तीन वर्षमा झन्डै एक लाख निजी घर बने पनि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा तथा सरकारी भवनको पुनर्निर्माण अत्यन्तै लाजमर्दो अवस्थामा छ ।
पुनर्निर्माण प्राधिकरणका अनुसार यो तीन वर्षको अवधिमा १ लाख १९ हजार २ सय २९ निजी घरको पुनर्निर्माण भएको छ । यो संख्या कुल लाभग्राही सूचीमा सूचीकृत सात लाख ६७ हजार ७०५ को करिब १५ प्रतिशत मात्र हो । यसबीचमा ४ लाख ३० हजार घर निर्माणको चरणमा रहेको प्राधीकरण बताउँछ ।
भूकम्प गएको तीन वर्षको अवधिमा पुनर्निर्माण गर्नुपर्ने सूचीमा रहेका ७ हजार ५८३ विद्यालयमध्ये ३ हजार ६१५ को पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै, १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ५८६ र ७५३ सांस्कृतिक सम्पदामध्ये सय वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको तथ्यांक छ । भूकम्प पीडितका लागि सरकारले दिने घोषणा गरेको सहुलियत ऋण अझै टुंगो लाग्न सकेको छैन ।
आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्यार्जी ऋण सुविधा उपलब्ध गराउने घोषणा गरिएको थियो । त्यसअनुसार करिब एक वर्षअघि नै सरकारले सामुहिक जमानीमा तीन लाख रुपैयाँ निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि समेत ल्याएको थियो ।
कार्यविधि संशोधन गरेर गत कात्तिकमा सामूहिक तथा धितो जमानीमा ऋण लिन पाउने व्यवस्था गरिए पनि लाभग्राहीले अझैसम्म यो सुविधा पाउन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन् ।
२०७२ वैशाखमा गएको भूकम्पबाट प्रभावितहरुको सम्झनामा काठमाडौंको धरहरा छेउमा आयोजित कार्यक्रममा उनले पुनर्निर्माणको काममा भएको ढिलाईप्रति असन्तुष्टि जनाए । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि भौतिक संरचनाको हालत भग्नावशेषको रुपमा हुनु दुःखद् भएको भन्दै ओलीले पुनर्निर्माणको कामलाई तिब्रता दिने आश्वासन दिए ।
पुनर्निर्माणको गति यस्तै भए पाँच वर्षभित्र पनि भौतिक संरचनाको पुनर्निर्माण गर्न कठिन हुने उनको भनाई थियो । उनले ‘म बनाउँछु मेरो धरहरा’ अभियानले गति लिन नसकेको स्वीकार्दै चाँडै जनस्तरबाट धरहरा निर्माण गरिने पनि बताए । पुनर्निर्माणमा राष्ट्रको संकल्प केन्द्रित गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले निराश भई नहाल्न पनि आग्रह गरे ।
अब सुरक्षित, सम्पदाले भरिपूर्ण र समृद्धिको मार्गसहितको नयाँ नेपाल बन्ने आश्वासन उनले दिए । दक्ष जनशक्ति र कानुनी अड्चनका कारण पनि पुनर्निर्माणले गति लिन नसकेको उनको भनाई थियो । सम्पूर्ण प्रयासलाई राष्ट्र निर्माणमा केन्द्रित गरेर मुलुकमा फाँसिवाद होइन, जनवाद र समृद्धिवाद ल्याइने जिकिर गरे । प्रधानमन्त्री ओलीले भूकम्पबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे । घाइतेप्रति स्वास्थ्य लाभको कामना गर्दै उनले भूकम्प पीडितहरुको गुनासालाई सरकारले उचित सम्बोधन गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०७:५७