सूचनाको शक्ति - The Power Of Information

        

मौसमको कहर

भेरी नदीमा जलस्तर खतराको तह पार, सुरक्षा निकाय ‘हाइअलर्ट’मा

भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । तर अहिले जलस्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ ।

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।

भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ ।

खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५ दशमलव २३ मिटर पुगेको छ । अहिले वर्षा भइरहेकाले आगामी ६ घण्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

भेरीको किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरङ्गा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायत बस्ती जोखिममा छन् । बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्दार तथा राहतका लागि मातहतका सबै सुरक्षा निकायलाई ‘हाइअलर्ट’को अवस्थामा राखेका छौं,’ रिजालले भने । स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए । नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १४:०४