सूचनाको शक्ति - The Power Of Information

        

मौसमको कहर

डुबानले नरैनापुरका पाँच हजार बढी स्थानीय प्रभावित

नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले खेतीपाती पनि सखाप पारेको छ ।

अविरल वर्षाले नरैनापुरका स्थानीयको घरमा पसेको पानी ।

तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ ।

नरैनापुर गाउँपालिकाका करिब पाँच हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ । लगातारको वर्षाले गर्दा नरैनापुरको ६ वटै वडाका अधिकांश गाउँमा बाढीको पानी पस्दा भएको डुबानले करिब पाँच हजार स्थानीय प्रभावित भएको पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा विहीबारदेखि नै खान पाक्न नसकेको उनले बताए । बाढी र डुबान पीडितका लागि तत्काल तयारी खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष साहको भनाइ छ ।

समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धानबाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको उनले बताए । गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतनिया, ३ को बहावपुरवा, गिगली, रदैया, कोटीपुर र कोठीया, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोन्द्रा लगायतका गाउँका अधिकांश घरमा पानी पसेर अस्तव्यस्त अवस्था रहेको पालिकाले जनाएको छ ।

पालिका अध्यक्ष साहले अझै पनि धेरै ठाउँबाट पानी पसेको र घरमा रहेका सबै सामान भिजेर बेहाल भएको जानकारी आउने क्रम जारी रहेकाले प्रभावितको सङ्ख्या बृद्धि हुने बताए । अहिले पनि निरन्तर वर्षा भइरहेकाले धेरै ठाउँमा पुग्ने अवस्था नरहेको र दुई दिनदेखि बिद्युत समेत नरहेकाले फोन सम्पर्क गर्न समस्या भइरहेको उनले बताए ।

वडा नं.६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले वडाको अधिकांश घरमा खोलाको पानी पसिसकेको बताए । वडावासीलाई घरदेखि माथि चौरमा पाल टाँगेर राखिएको उनको भनाइ छ । उता, सुरक्षा निकायको संयुक्त टोलीले पनि पालिकाका विभिन्न स्थानमा पुगेर डुबान र बाढीमा फसेकाहरुको उद्धार गर्ने तथा उनिहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १३:५६