सूचनाको शक्ति - The Power Of Information

        

नारायणीको बाढीले बाँध भत्काएपछि सुस्तामा बाढी

नारायणी नदीको बाढीले बाँध भत्काएपछि नवलपरासीको सुस्तामा पसेको बाढी ।

तीन दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीको बाढी नवलपरासीको सुस्तामा बाँध भत्काएर गाउँमा पसेको छ । बाढी गाउँ पसेपछि सुस्तामा त्रास फैलिएको छ ।

विहीवारदेखि लगातार नारायणी नदीमा बाढी बढदै गएको अवस्थामा शुक्रवार विहान नारायणी नदीको बाढीले सुस्ता गाउँपालिकाको वार्ड नम्बर ५ पारी सुस्तामा ठोकर नम्बर १ बाट बाढीले बाँध भत्काएको हो ।

नारायणीको बाढी सुस्तामा पसेपछि सुस्तामा त्रास फैलिएको सुस्ताका स्थानीयवासी रविन्द्र जैसवालले बताए । नारायणी नदीमा पानीको बहाव लगातार बढ्दै गएपछि शुक्रवार विहानको समयमा सुस्तामा बाँध भत्काएर नारायणीको बाढी नवलपरासीको त्रिवेणी र सुस्तामा पसेको थियो ।

नारायणी नदीको बाढीले बाँध भत्काएपछि नवलपरासीको सुस्तामा पसेको बाढी ।

नदीको तटीय क्षेत्रमा त्रास फैलिएपछि स्थानीयलाई सुरक्षित स्थानमा लग्नेबारे छलफल भइरहेको छ । नदीमा पानीको मात्रा बढदै गएपछि विहीवार विहानदेखि गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएको छ । बाढीले त्रिवेणी बजारतर्फको बाँध भत्काए भएपछि स्थानीय युवा सुरक्षा निकाय लगायतको सहयोगमा त्रिवेणीतर्फको बाँधको मर्मत गरिएको थियो ।

सुस्तातर्फ नदीले भत्काएको बाँधले बढी जोखिम निम्त्याएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खडकाले बताए । नवलपरासीमा नारायणी नदीको बाढीका कारण करिब दुई दर्जन गाउँहरु जोखिमा रहेका छन् । नारायणी नदीले खतराको तह पार गरेपछि जिल्लामा सम्भाब्य जोखिमको उद्धारका लागि तीन वटै तहका सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

नारायणी नदीमा पानीको मात्रा लगातार बढदै गएको छ । नदीको किनारामा बसोबास गर्ने तटीय क्षेत्रका मानिसहरुलाई सावधान रहन सुचित गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । अहिले नारायणी नदीमा चार लाख ४० हजार क्युसेक प्रतिसेकेन्डको दरले पानीको बहाव पुगेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १२:२०