मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।
हिमपात भएपछि स्थानीयवासी घरबाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधवार रातिदेखि हिमपात भएको बताउनुभयो ।
‘बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ’, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो बढेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।
थोराङ्ला पास (५४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेस क्याम्प), हाइ क्याम्पलगायतका ठाउँमा डेढ सय जना पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल (४९१९ मि) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेस क्याम्पलगायतका ठाउँमा पनि पर्यटक रहेका छन् ।
‘हिमपात र वर्षाका कारण पहिरोको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोवास गरिएको छ त्यही ठाउँमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ’, प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो ।
नार्पाभूमि गाउँपालिकाको मेता (३५६० मि) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३३०० मि) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ ।
अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढी पहिरोले सडकमा क्षति पुर्याएको छ । सडकमा पहिरो खसेपछि बुधवारदेखि नै गाडी चल्न सकेको छैन ।
सत्यपाटी । काठमाडौँ ।