सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा नौं हजार नेपालीलाई देश निकाला

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकाबाट प्रकाशित वासिङ्गटन पोष्टका अनुसार त्यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई निकाला गर्ने भएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१५ देखि अमेरिकामा बसोबार गर्दै आएका करिव ९ हजार नेपालीलाई फिर्ता गर्ने तयारी थालेको अमेरिकाको द वासिङट्न पोष्ट दैनिकको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । सो अनलाइनले होमल्याण्ड सेक्युरिटिजका सचिव क्रिस्टजेन नेल्सनले फिर्ता जानका लागि १ वर्ष थप समय दिएको जानकारी दिएको छ ।
जसअनुसार आगामी वर्षको जुन २४, २०१९ सम्मको समय दिएको हो । २०७२ को विनासकारी भूकम्पको कारण देखाउँदै ३ वर्षअघि अमेरिकाले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएपछि हजारौ संख्यामा नेपाली बसोबार गर्दै आएका थिए । नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका छन् ।
७.८ म्याग्नीच्युटको भूकम्पबाट ९ हजार बढी नेपालीको ज्यान गएपछि अमेरिकी सरकारले नेपालीका आफन्तलाई त्यहाँ बस्न अनुमति दिएको हो । आप्रवासीलाई अमेरिकामा बस्न दिन नुहुने कडाधारका राष्ट्रपति ट्रम्पको यो निर्णयले नेपालीलाई समस्यामा पार्नेछ । अमेरिकाले २ लाख एलसाल्भडोर, ५० हजार हैटी र केही संख्यामा निकारागुवा र सुडानका नागरिकलाई देश निकाला गरिसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार ०६:५८