सूचनाको शक्ति - The Power Of Information

        

माओवादीबाट सधैँ बिस्थापित निरज


जाजरकोट । भनिन्छ, राजनीति भनेको सम्भावनाको खेल हो । राजनीतिभित्र अनेक तिकडमवाजी हुन्छन् । अनेक जालझेल रचिन्छन् । यस्तै अनेकन संभावनाबीच आफ्नै सरकार ढाल्ने माओवादीसँग नेकपा एमालेले प्रदेश र प्रनिनिधीसभा निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धन गर्ने निर्णय ग¥यो । यतिसम्म भनियो कि निर्वाचनपछि दुवै पार्टीबीच एकता हुनेछ । तर, राजनीतिलाई सम्भावनाको खेल हो भन्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतीलाई कति इमान्दारितापूर्वक पूरा गर्छन त्यो हेर्नै बाँकी छ । इतिहास हेर्ने हो भने उनी सहमति पालनामा त्यति इमान्दार देखिएका छैनन् ।
चुनावमा ६०-४० को भागवण्डा गर्ने सहमति गरेका एमाले–माओवादीले मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट र क्षेत्र बाँडफाँड गरेसँगै विभिन्न जिल्लामा असन्तुष्टि देखिए । कतिसम्म भने केही जिल्लामा उम्मेदवारी दर्ता गरिसकेका उम्मेदवारले उम्मेदवारी खोस्ने काम भयो । यसरी ‘एक्कासी’ गरिएको वाम गठबन्धनको ‘कोपभाजन’मा पर्ने मध्येका एक हुन, एमाले युवा नेता निरज आचार्य । उनले प्रदेशसभाका लागि जाजरकोट ‘क’ बाट उम्मेदवारी दर्ता गराएका थिए । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा उनले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भए । जबकी उनै ओलीले आचार्यलाई मनोनयन पत्र दिएर उम्मेदवारी दर्ता गर्न जिल्ला पठाएका थिए ।

यसरी खोसियो टिकट

गठबन्धन गरेका दुई पार्टीले पहिलो चरणको निर्वाचनको लागि गएको कार्तिक २ गते राती सिट र क्षेत्र बाँडफाँडको टुङ्गो लगाए । जसलाई पार्टी एकता संयोजन समितिले अनुमोदन ग¥यो । जसअनुसार जाजरकोटबाट प्रतिनिधीसभातर्फ माओवादी र प्रदेशसभाका दुवै सिट एमालेलाई दिने सहमति भयो । माओवादी सचिवालय सदस्य एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिनिधीसभामा उम्मेदवार बनाउने निर्णय गरिसकेको थियो । ३ गते बसेको एमाले स्थायी समिति बैठकले प्रदेशसभातर्फ जाजरकोट ‘क’ मा केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव निरज आचार्य र ‘ख’ मा पार्टी जिल्ला अध्यक्ष करबिर शाहीलाई उम्मेदवारी बनाउने निर्णय ग¥यो ।
एकातिर प्रदेशका दुवै सिट एमालेलाई दिएको विषयमा माओवादीभित्र असन्तुष्टि चुलिएको थियो भने अर्काेतिर प्रदेशमा संस्थापन पक्षको उम्मेदवार नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखियो । यतिमात्र होइन एमाले केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ तथा पूर्वसांसद रत्नप्रसाद शर्मा लगायतको टोली ‘गुट मिलेन’ भन्दै अध्यक्ष केपी ओलीको दैलोसम्म पुगे भने माओवादीका जिल्ला नेताहरु कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, गणेशप्रसाद सिंह, प्रशान्त शर्मा लगायतका नेताहरु शक्ति बस्नेत समक्ष विद्रोह गर्ने चेतवानी दिइरहेका थिए । जिल्लामा माओवादीभित्र शक्ति भन्दा जनार्दन शर्माको समूह बलियो मानिन्छ । उसो त भेरी वारिपारीका बस्नेत र शर्माबीचको अन्र्तसंघर्ष युद्धकालदेखिकै भएको जानकारहरु बताउँछन् ।
एमाले नेतृत्वको सरकारमा बस्नेत गृहमन्त्री हुँदा उनलाई फिर्ता बोलाउन र एमालेसँगको गठबन्धन तोड्न शर्माले प्रचण्डलाई निकै दबाब दिएका थिए । जिल्ला नेताहरुले विद्रोह गर्ने भनेर दिएको धम्की र त्यसो हुँदा एमालेको साथले मात्र जित्न नसकिने भएपछि प्रचण्डका विश्वास पात्र मानिने पूर्वमन्त्री बस्नेतले प्रचण्डसमक्ष जिल्लाको अवस्था ब्रिफिङ गरे । अनि, प्रचण्डले केपी ओलीसम्म बिन्ति गरे । फलस्वरुप, जाजरकोट–१, माओवादीले नै पाउने भयो, एमाले ब्याक हुनुपर्ने स्थिति आयो । एमालेको तर्फबाट उम्मेदावरी दर्ता भइसकेपछि केन्द्रमा अध्यक्ष ओली र प्रचण्डबीचको सहमतीले जाजरकोट–१, को राजनीति ‘यूटर्न’ भयो ।


यस्तो छ स्थानीय तहको मत

स्थानीय तहको चुनाव अनुसार जाजरकोटमा एमाले, कांग्रेस र माओवादी केन्द्रको मत थोरै मात्र तलमाथि छ । स्थानीय तहको मत नै अहिलेका लागि ताजा मत हो । जिल्लाका सात स्थानीय तहमा दलहरुले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले २० हजार ६ सय मतका साथ पहिलो दल बनेको थियो । कांग्रेसको मत १९ हजार ४३९ छ भने माओवादीको मत १७ हजार ४६१ मत छ । उम्मेदवारी खोसिएपछि जाजरकोटमा एमाले कार्यकर्ताबीच तीब्र असन्तुष्टि देखिएको छ । तेस्रो दललाई ७० प्रतिशत दिन नसकिने भन्दै व्यापक असन्तुष्टि थियो । कार्यकर्ताले उम्मेदवारी फिर्ता नलिन र स्वतन्त्र भए पनि लड्न दवाव दिए पनि आचार्यले वाम गठबन्धन विपरित नजाने भन्दै उम्मेदवारी फिर्ताको घोषणा गरे । ‘माक्र्सवादीहरु कहिल्यै हार मान्दैनन्’, नेता आचार्यले भने, ‘आफूलाई अझ बलियो भएर उभ्याउँछु । अबको यात्रालाई अझ इस्पातिलो बनाउने अभियान जारी छ ।’ उनले अध्यक्ष ओलीको नासो उनैलाई फिर्ता गरेको बताएका छन् ।


को हुन निरज ?

निरज आचार्यको जन्म विक्रम सम्वत २०३४ साल पौष १८ गते पीता स्वर्गीय मोतीराम आचार्य र माता भद्रशीला आचार्यको कोखबाट भएको हो । साविक जगतिपुर गाविस वडा नम्बर १ बाहुनगाउँको सामान्य परिवारमा जन्मिएका उनी सानैदेखि जागरुक, जिज्ञासु र विद्रोही स्वभावका थिए । सामान्य परिवारमा जन्मिएका निरजका बुवा सामान्य कृषक हुन् । अत्यन्तै मिलनसार र मिजासिला व्यक्तित्वका धनी निरज समाजसेवीका रुपमा पनि चिनिन्छन् । कुनै सार्वजनिक लाभको पदमा नबसेका आचार्यले जिल्लाका विभिन्न विद्यालयहरुमा शैक्षिक तथा खेदकूद सामाग्री, कम्प्युटर, विभिन्न मठमन्दिर निर्माणका लागि जस्ता पाता, सिमेन्ट, पाइपको अभावमा खानेपानी नपगुेका ठाउँमा पाइप उपलब्ध गराउनेदेखि विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

जिल्ला सचिवदेखि केन्द्रीय महासचिवसम्म

नेता आचार्यमा सानैदेखि राजनितिक चेतनाको विकास हुने अवसर पायो । सानैदेखि राजनितिमा संलग्न भए । कक्षा पाँचमा अध्ययन गरिरहेका बेला (२०४६ सालमा) देशमा आन्दोलनको रापताप बढ्दै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश त्यतिबेला जाजरकोटसम्म पुगिसकेको थियो । २०४६ सालमा देशमा प्रजातन्त्र आयो । बहुदल स्थापना भएसँगै विद्यालयहरुमा विभिन्न विद्यार्थी संघ संगठनहरुले संगठन बनाउन शुरु गरे । नेविसंघ, अखिल छैटौँ, अलिख पाँचौ लगायतका विद्यार्थी संघसंगठनहरुले विद्यालयमा संगठन बनाउने क्रममा आचार्य केही समयपछि अखिल पाँचौको प्रा.क. अध्यक्ष बन्न पुगे । यसमा उनका दाई रामलाल आचार्यको ठूलो भूमिका छ ।
२०५० सालमा अनेरास्ववियु पाँचौको जिल्ला कमिटी सदस्य र ०५१ सालमा उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक सम्हाले । २०५१ साउनमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (अहिलेको युवा संघ)को संस्थापक सचिव भएर युवा राजनीतिमा होमिएका आचार्यले २०५२ चैत ११ मा भएको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाए, जसलाई उनले कुशलतापूर्वक पूरा गरे । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा जिविस सदस्यमा निर्वाचन भएका निरज देशकै कान्छा जननिर्वा्चित प्रतिनिधी हुन् । जतिबेला उनी १९ वर्षका मात्र थिए । २०५४ चैतमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा भेरी अञ्चल संयोजक÷ईन्चार्ज बने । त्यसक्रममा भेरीका पाँचवटै जिल्लामा संगठन निर्माण र विस्तारमा क्रियाशील भए ।

पार्टी राजनिति
– २०५१ मा नेकपा एमाले जगतिपुर गाउँ कमिटी सचिव
– २०५३ मा नेकपा एमाले २ नम्बर इलाका कमिटी सचिव
– २०५४ देखि ०६३ सम्म नेकपा एमाले जिल्ला कमिटी जाजरकोटको सदस्य
– २०६८ नेकपा एमाले राष्ट्रिय परिषद् सदस्य
– २०५९ देखि भेरी अञ्चल सदस्य
– हाल नेकपा एमाले केन्द्रीय श्रम तथा रोजगार विभागको सचिव

माओवादीबाट लखेटिए, आफ्नाले धोका दिए

माओवादी सशस्त्र युद्धका बेला जाजरकोटमा एमाले राजनिति गर्न त्यति सजिलो थिएन । तर, अनेकन अफ्ठयारासँग जुध्दै राजनीतिमा उदाएका निरजको जीवनमा माओवादी मात्र होइन आफ्नै पार्टी पनि पटक पटक बाधक बन्दै आएको छ । माओवादीको बर्बतालाई परास्त गर्न सकेका उनी पार्टी्भित्रैको ‘धोका’बाट भने बच्न सकेका छैनन् । २०५८ सालमा ‘नयाँ सत्ताको गीत’ नामक उपन्यास लखेका उनलाई तत्कालिन विद्रोही माओवादीले ज्यान मार्ने धम्की दिएका थिए । माओवादीकै धम्कीले उनी जिल्ला छोड्न बाध्य भए । विस्थावित भएर काठमाण्डौँ पुगेका नेता आचार्यले संगठनको कार्यालय सचिवको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गरे ।
२०६३ सालमा विराटनगरमा भएको प्ररायुसंघको छैटौँ राष्ट्रिय सम्मेलनबाट संगठन विभाग प्रमुख, लहानमा भएको सातौँ राष्ट्रिय सम्मेलनबाट महासचिव जस्तो गरिमामय पदमा निर्वा्चित भएका आचार्य बुटवलमा २०६९ मा भएको आठौँ राष्ट्रिय सम्मेलनमा अध्यक्षमा ५४ मतले पराजित भए । जसबेला उनलाई पराजित गर्न जिल्लाकै प्रतिनिधीले भूमिका खेलेका थिए । जिल्लाका केही प्रनिनिधीले उनका विरुद्ध प्रचारवाजी समेत गरेका थिए । पार्टीभित्र उनीमाथिको प्रहार यतिमा सीमित रहेन । २०७१ असार १९ देखि साउन १ सम्म भएको पार्टीको नवौँ महाधिवेशनसम्म पुग्यो ।
महाधिवेशनमा पनि जिल्लाबाट आएका केही प्रतिनिधीले मत नदिने मात्र गरेनन् विरुद्धमा प्रचार गर्ने काम समेत गरे । खुलातर्फको केन्द्रीय सदस्य उठेका उनी त्यसबेला ९ मतले पराजित भएका थिए । २०६४ र ०७० सालको संविधानसभा निर्वाचन समेत सिफारिसमा परेका उनले टिकट पाउन सकेनन् । यो पटक उम्मेदवारका लागि जिल्लाबाट भारी मतसहित सिफारिस भएका उनले टिकट त पाए तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा फिर्ता गर्नुपर्ने अवस्था आयो । गठबन्धन र गुटको कोपभाजनमा परेका उनी भन्छन्, ‘ओलीजीको नासो उहाँलाई नै फिर्ता गरेँ’, मेरो यात्रा जारी छ । राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन । आउँदा दिनमा झन बलियो भएर आउँछु ।’

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहीबार ०७:३१