सूचनाको शक्ति - The Power Of Information

        

आज महाअष्टमी : दुर्गा भवानीको विशेष आराधना गर्दै

बडादशैंको आठौं दिन आज सोमबार महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको भव्यरुपमा पूजाआराधना गरि मनाइन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । यसक्रममा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

आजको रातलाई कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ ।

आज पनि उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठहरुमा बलिसहित पूजाआजा गर्नेको भीड लागेको छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

महाअष्टमीको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने चलन छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०८:२८