सूचनाको शक्ति - The Power Of Information

        

टिकट नपाएकाे यात्रुकाे गुनासाे, व्यवसायी भन्छन्– ‘आजै घर जानैपर्छ भन्दा समस्या भयाे’

नेपालीहरूको महान् चाड बडादशैँ मनाउन घर जानेहरूको आज आइतवार पनि उल्लेख्य भिड छ ।

काठमाण्डाैकाे नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरूको भिड लागेको हो । टिकट काट्न आउने र अग्रिम टिकट काटेका यात्रु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन् । उनीहरूले यातायात व्यवसायीहरूले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे । यातायात व्यवसायीहरूले बसको टिकट छ भनेर काट्ने गरेको तर गाडी चल्ने बेलामा सिट नै खाली नरहेको उनीहरूको भनाइ छ ।

बस व्यवसायीहरूले दोब्बर मूल्य भाडा लिएर ‘रिजर्भ’ मा पनि मान्छे ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुको चर्को गुनासो छ । उनीहरूले सरकारले दशैँमा घर जानेहरूलाई बसको टिकटका लागि व्यवस्था नमिलाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् ।

यातायात व्यवसायीहरुले भने ‘अन द स्पोट’ आएर जसरी पनि घर जानैपर्ने भन्ने यात्रुका कारण यी समस्या आइरहेको बताए । पूर्वाञ्चल संयुक्त यातायातका कर्मचारी खगेन्द्र बस्नेतले आज टिकट काट्न आउने र जसरी पनि जानैपर्छ भन्ने यात्रुले यस्तो समस्या निकालिरहेको बताउनुभयो । उहाँले टिकट काट्दा उभिएर पनि जान्छु भन्ने तर टिकट काटिसकेपछि टिकटमा अर्को मानिस राखेको छ भन्नेजस्ता कुरा गरेर भ्रम पैदा गरिरहेको बताउनुभयो ।

नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाण्डाै आएकाहरू गाउँ फर्किरहेका छन् । यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुलाएर गाडीको सहज व्यवस्थापन गर्ने भने पनि यात्रु भने अग्रिम काटेको टिकट पनि नपाएको गुनासो गरिरहेका छन् । नयाँ बसपार्क, गौशाला, कोटेश्वरलगायतका ठाउँमा टिकट काटेर घर फर्किने यात्रुको लामाे लाइन देख्न सकिन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतवार १८:११