सूचनाको शक्ति - The Power Of Information

        

सवारी दुर्घटनाको पीडा

दशैंका बेला किन शोकमा डुब्छन् कर्णालीका गाउँहरु ?

कर्णालीमा बर्सेनि सडक दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । चाडपर्वका बेला दुर्घटनाको जोखिम झन् उच्च हुन्छ ।

फाइल तस्वीर

गत बुधबार विहान सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एकै गाउँका आठ जनाको मृत्यु भयो । उक्त घटनाले एउटा सिंगो गाउँ नै शोकमा डुब्न पुग्यो । दशैंले रौनकताले गाउँघर छुन लाग्दै गर्दा दुर्घटनाले गाउँमा अहिले शोक छाएको छ ।

सोही दिन जुम्लाबाट स्याउ लिएर सुर्खेततर्फ आईरहेको ट्रक दुर्घटनामा पर्यो । जुम्लाको हिमा गाउँपालिकामा वागमती प्रदेश ०३–००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना भएको थियो । करिब सात सय कार्टुन स्याउ लिएर हिँडेको ट्रक दुर्घटना हुँदा मकवानपुर घर भएका ट्रक चालक अविनाश लामाको मृत्यु भयो भने उनका सहयोगी हरि न्यौपाने घाइते भए ।

यी दुवै दुर्घटना पनि मानवीय हेलचेक्र्र्याइँले भएको प्रहरीले जनाएको छ । चाडपर्वमा सीट क्षमताभन्दा धेरै यात्रु बोक्ने, चालकले मदिरा सेवन गर्ने र अनियन्त्रित गतिले दुर्घटना बढी हुने गरेको पाइएको छ । कर्णालीमा बर्सेनि सडक दुर्घटनाबाट ठूलो मानवीय क्षति हुने गरेको छ । चाडपर्वका बेला दुर्घटनाको जोखिम झन् उच्च हुन्छ ।

यसपालि पनि दशैं सुरु भएपछि थुप्रै ठाउँमा सार्वजनिक सवारी साधन दुर्घटना भएका छन् । प्रहरीका अनुसार कच्ची सडकमा क्षमताभन्दा बढी भार बोक्दा दुर्घटनाको जोखिम धेरै रहने गरेको प्रहरीको बुझाइ छ । बर्सेनि चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले चेकजाँचसँगै सक्रियता बढाए पनि सडक दुर्घटनाका घटना भने उस्तै छन् ।

यसपालिको दशैं समयमा मात्र होइन यसअघिका वर्षहरूमा समेत कर्णालीमा दशैं–तिहार लगायतका चाडपर्वको समयमा सडक दुर्घटनाका संख्या बढेको देखिन्छ । अघिल्लो वर्ष २०७८ को असोज महिनामा मात्र कर्णालीमा २३ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यीमध्ये २१ दुर्घटना त दशैंको मुखैमा नै भएको देखिन्छ ।

कर्णाली प्रदेश प्रहरीको तथ्यांक अनुसार गत वर्ष दशैं अवधिमा कर्णालीमा दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाए । गत वर्षको असोज २६ गते नेपालगन्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छाँयानाथ रारा नगरपालिकास्थित खोलामा दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए, १३ जना घाइते भएका थिए । कर्णालीमा चाडपर्वमा समयमा दुर्घटनाको जोखिम बढ्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्यांक अनुसार विगत तीन आर्थिक वर्षमा १६४ वटा सडक दुर्घटना भए । सबैभन्दा बढी चाडपर्वको समयमा दुर्घटना हुने गरेको छ । दुर्घटना हरेक वर्ष बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६–०७७ को असोज महिनामा कर्णाली प्रदेशमा ३३ वटा सडक दुर्घटना भएका थिए ।

यसैगरी २०७७–०७८ को असोज महिनामा १८ वटा र २०७८–०७९ मा २३ वटा सडक दुर्घटना भएका छन् । तीन आर्थिक वर्षको असोज महिनामा मात्र कूल ७४ दुर्घटना घटेको देखिन्छ । दशैं सुरु भएसँगै यात्रुहरूको चाप ह्वात्तै बढ्न थालेको छ । सार्वजनिक सवारी साधनमा केही दिनयता यात्रुहरूको भरिभराउ छ ।

दशैं–तिहारलाई लक्षित गरी ‘रुट परमिट’ खुला गरिए पनि यात्रुबाहक सवारी साधनको संख्या भने सामान्य अवस्थाको जस्तै छ । कर्णाली राजमार्गमा क्षमताभन्दा बढी यात्रु बोक्ने र कच्ची सडकमा तीव्र गतिमा गाडी हाँक्दा दुर्घटनाको जोखिम एकातिर छ भने अर्कोतिर यात्रुहरू तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य छन् ।

प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर सोहीअनुसार जनशक्ति परिचालन गरिएको दाबी गरे पनि दुर्घटनाको जोखिम भने उस्तै छ । सवारी साधनको चेकचाँजमा कडाइ नगर्दा व्यवसायीहरूले क्षमताभन्दा दोब्बर यात्रु बोकेर जोखिमपूर्ण यात्रा गराइरहेका छन् । कर्णालीका अधिकांश सडक कच्ची र जीर्ण छन् ।

ती सडकमा चल्ने सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु सवार गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रवक्ता तथा प्रहरी निरीक्षक भिमबहादुर खड्काले बताए । उनका अनुसार सुर्खेतका पञ्चपुरी, चौकुने र लेकवेशी जाने कच्ची रुटमा यातायात व्यवसायीले गाडीको छतमा मान्छे हाल्ने, क्षमताभन्दा बढी बोक्ने गरेको भेटिएको छ ।

यस्ता जोखिमयुक्त गतिविधि रोक्न प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले निगरानी बढाइरहेको उनको दाबी छ । प्रहरी निरीक्षक खड्का भन्छन्, ‘कर्णाली राजमार्गमा चल्ने गाडीहरूमा झनै विशेष निगरानी गर्दै आएका छौँ ।’ सवारी नियमविपरीत सञ्चालन गरिएका यात्रुबाहक ६०–७० सवारी साधनलाई दैनिक कारबाही गर्ने गरिएको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतवार ०७:१८