दश बुँदे पक्षधर अर्थात नेकपा एमालेका पूर्व माधव समूह र पूर्वमाओवादी नेताले ब्यापक विरोध गरेपछि निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूची सच्याउ एमाले अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् ।
समानुपातिकको सूचीमा अध्यक्ष ओलीले आफ्नो समूहका नेताको मात्र नाम समावेश गरेको भन्दै दश बुँदे र पूर्व माओवादी नेताले सार्वजनिक रूपमै अध्यक्ष ओलीको विरोध गरेका थिए । पूर्व माओवादी नेताहरूले अध्यक्ष ओलीलाई समानुपातिक तर्फको बन्दसूचीकै कारण पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति बन्न लागेको भन्दै सचेत गराएका थिए ।
त्यसपछि ओली यस विषयमा गम्भीर बनेका हुन् । पूर्व माओवादी समूहबाट रामबहादुर थापा ‘बादल’ लगायत केही नेतालाई समेटेर एमालेले अन्तिम बन्दसूची तयार पार्ने बुझिएको छ । समानुपातिक तर्फको बन्दसूचीको विषयलाई लिएर विवाद उत्पन्न भएपछि एमालेले बिहीबार साँझ सचिवालय बैठक बोलाएको थियो ।
बैठकले बन्दसूची सच्याउने निर्णय गरेको छ । तर, यसपटक पनि यसको अन्तिम निर्णय गर्ने अधिकार भने अध्यक्ष ओलीलाई नै दिएको छ । असोज ३ गते निर्वाचन आयोगलाई मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाएको एमालेले करेक्सन सहितको बन्दसूची असोज १५ गते बुझाउने भएको छ ।
सत्यपाटी । काठमाडौं ।