सूचनाको शक्ति - The Power Of Information

        

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै ‘बाबरी’

शुक्रवार सिनेमा हलमा एक नेपाली र दुई विदेशी फिल्महरू प्रदर्शनमा आउँदै छन्। नेपाली फिल्मतर्फ ‘बाबरी’ र विदेशी फिल्मतर्फ भारतीय फिल्म ‘विक्रम बेधा’ र ‘पोन्नियिन सेलवान’ रिलिज भएका हुन्।

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेमकथामा आधारित छ। फिल्ममा अदिती बुढाथोकी, धिरज मगर र धीरज नाड्करको मुख्य भूमिका रहेको छ।

साथै फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।

बाबरीको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा बनेको फिल्मको निर्माता गणेश बुढाथोकी, पुष्पालता बुढाथोकी हुन्। सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन्।

त्यसैगरी, फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेक पनि आजबाट हलमा रिलिज भएको छ। यस फिल्ममा अभिनेता सैफ अली खान र ऋतिक रोशन मुख्य भूमिकामा देखिएका छन्। ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा।

यो फिल्म सन् २०१७ मा रिलिज भएको सुपरहिट तमिल फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो। यस फिल्ममा सैफ र ऋतिकका साथै राधिका आप्टे, रोहित सराफ र योगिता बिहानीको पनि अभिनय रहेको छ।

दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ पनि आजबाट भारतका विभिन्न पाँच भाषामा रिलिज भएको छ। मणि रत्नमको निर्देशित यो फिल्म ५०० करोड बजेटमा बनेको हो।

फिल्ममा चियान विक्रम र ऐश्वर्या रायका साथै विक्रम, बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोविता धुलिपललगायतको अभिनय छ। यो फिल्म सन् १९५५ को कल्की कृष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवान’ आधारित छ।

फिल्ममा एश्वर्याले रानी नन्दिनीको भूमिका निर्वाह गरेकी छिन्। यस फिल्ममार्फत एश्वर्याले चार वर्षपछि फिल्ममा कमब्याक गरेकी हुन्। उनी पछिल्लोपटक सन् २०१८ मा रिलिज भएको फिल्म ‘फन्ने खान’ मा देखिएकी थिइन्।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:०७