सूचनाको शक्ति - The Power Of Information

        

गाउँबाट हराए गन्धर्व

शहरमा आक्कल झुक्कल सुनिन्छ ‘सारङ्गीको धुन’ (भिडियोसहित)

गन्धर्व जातिको पुर्ख्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुर्ख्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको छ ।

सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यो सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ । तर कहिलेकाहीँ आक्कल झुक्कल सारङ्गी रेट्दै गाइनेहरु शहरका घरघरमा भेटिन्छन् ।

जाजरकोटबाट बसाई सरेर बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा बस्दै आएका ५९ बर्षिय ठगेन्द्र गाइने अपमान र छुवाछुतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउँछन् । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।

सारङ्गी बजाउनेहरु अन्य पेशा व्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यो पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ । युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ, तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै सङ्कटमा परेको छ ।

ठगेन्द्र गाइने सारङ्गी बाजा नेपालको राष्ट्रियतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आबद्धलाई सम्मानको खाँचो रहेको बताउँछन् । नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ । नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उनले बताए ।

गन्धर्व जातिको पुर्ख्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुर्ख्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको ठगेन्द्रको तर्क छ । कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोख्छन् । सरकारले सारङ्गी सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उनको जोड छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ११:०३