सूचनाको शक्ति - The Power Of Information

        

बाँके : ३७ जनाको परिवारको एउटै भान्सा

एकल परिवारमा बाँडिइरहेको हाम्रो समाजमा संयुक्त परिवार विरलै देख्न पाइन्छ । धेरै दाजुभाइमात्र होइन । एउटै परिवारका दाजुभाइ पनि छुटिएर एकल परिवार बनाएर बसेका छन् । तर बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाहा गाउँमा ३७ जनाको परिवारका लागि एउटै भान्सामा खाना पाक्छ ।

सबै जना घरमा जुट्दा घरमा रौनक थपिन्छ । बिहे अनि चाडपर्वको माहोल बन्छ । कहिलेकाहीँ पाहुना आए पनि घरमा अटाउन मुस्किल पर्छ । यस परिवारमा आमासहित ६ भाइको संयुक्त परिवारमा पत्नी, छोराछोरी गरी ३७ जना एउटै घरमा बसिरहेका छन् ।

केटाकेटीदेखि किशोर वृद्धसम्म एउटै छानामुनि रमाइरहेका छन् । सबैको आ–आफ्नो कोठा नभए पनि घरको वरिपरि छतमा समेत उनीहरू सुत्ने गर्छन् । एकै पटक ३७ जनालाई खाना पकाउन नसक्दा हरेक छाकमा दुई पटक पाक्छ । ‘बिहान बच्चाले खाना खाएर स्कुल जान्छन् पछि हामीहरूले खाने खाना पकाउँछौँ’, साइला छोरा समसुल खाले भन्नुभयो, ‘एकै ठाउँमा कोचाकोच गरेर भए पनि बसेका छौँ, ठूलो परिवारमा बस्ने बानी पर्‍यो, अब छुटिएर एक्लै बस्न सक्दैनौँ ।’

‘सबैले आ–आफ्नो हिसाबले कमाए पनि घर व्यवस्थापनको जिम्मा मेरो हातमा परेको छ‘, ‘परिवारका साइला छोरा समसुल खाले भन्नुभयो, ‘खर्च, बचत दुवै संयुक्तरूपमा गरेका छौँ ।’ भान्सादेखि घरको सरसफाइ छ बुहारीको हातमा हुन्छ । पालैपालो आफ्नो पालोमा उनीहरूले खाना पकाउँछन् ।

घरकी साइली बुहारी चन्दा बेबीले पालैपालो आफ्नो जिम्मेवारी पूरा गर्ने गरेकाले कुनै मनमुटाव नहुने गरेको बताउनुभयो ।

यो परिवारलाई एउटै डोरीमा बाँध्ने मुखिया आमा जमुर्ता खा हुनुहुन्छ । ८२ वर्षीया जमुर्ता खा सबै छोरासँगै बसेको देखेर आफैँ दङ्ग हुन्नुहुन्छ । जमुर्ता अझै टाठी हुनुहुन्छ । घरको बागडोर उहाँको हातमा छ । ‘छोरा, नाति सबै आफ्नै अगाडि देख्दा बडो आनन्द आउँछ’, जमुर्ता भन्नुहुन्छ, ‘मान्छे एक दिन मरेर जान्छ, बाँचुन्जेल हासीखुसी बाँच्ने हो ।’ बाँकेको पूर्वी–दक्षिणमा पर्ने नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । धेरैजसो वडामा मुस्लिम समुदायको बाहुल्यता छ ।

नरैनापुर गाउँमा धेरैजसो परिवार संयुक्तरूपमा बस्दै आए पनि बिस्तारै छोराहरू एक्लिएर बस्न थालेका छन् । ‘पहिला पहिला ५०÷६० को एउटै परिवार हुन्थ्यो, अहिले बिस्तारै छुटिएर एकल परिवारमा बस्न थालेका छन्’, नरैनापुरका स्थानीयवासी जीयावन तमौलीले भन्नुभयो, ‘संयुक्त परिवार सङ्ख्याको हिसाबले मात्र ठूला हुनु होइन, भावना प्रेम सर्मपण हिसाबले बलियो हुनु हो ।’

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ०७:३९