सूचनाको शक्ति - The Power Of Information

        

राजस्व चुहावट

छोटी भन्सार पुनःस्थापना नहुँदा बढ्यो तस्करी, जीर्ण बने संरचना

गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्र्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको छ ।

बाँकेमा रहेका नेपाल–भारत सीमाका छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने नेपालगन्ज भन्सार अन्तरगत रहेका सात वटा छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढेको हो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साईगाउँ र साईगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए ।

यी छोटी भन्सार वर्षौदेखि बन्द छन् । छोटी भन्सारका आफ्नै संरचना छन् । छोटी भन्सार लामो समयदेखि सञ्चालनमा नआउँदा स्थानीयका गाईगोठ भएका छन् भने केही छोटी भन्सारका संरचना जीर्ण बनेर भत्किने अवस्थामा पुगेका छन् ।

कतिपयले छोटी भन्सारको संरचनामा गाई, बाख्रा, भैंसी पनि बाँध्ने गरेका छन् । तर मुख्य भन्सार कार्यालयले हालसम्म छोटी भन्सारको संरचना संरक्षणमा ध्यान दिएको छैन । अधिकांश छोटी भन्सारका भौतिक संरचना काम नलाग्ने गरी जीर्ण अवस्थामा छन् ।

सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको छ भने छोटी भन्सार कार्यालय नहुँदा दैनिक उपभोग्य सामान ल्याउने नागरिकले समेत दुःख पाएका छन् ।

छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा नल्याइएका कारण ती नाकाहरू तस्करीको केन्द्र बन्दै गएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

‘हामीलाई त धेरै समस्या छ । वैधानिक हिसाबले राजस्व तिरेर सामान ल्याउँछु भन्दा पनि पाउँदैनौं । यहाँबाट सामान ल्याएर भन्सार तिर्न नेपालगन्ज पुग्नुपर्छ,’ नरैनापुर गाउँपालिका–१ का एक जना व्यापारीले भन्छन्, ‘भन्सार नहुँदा तस्करी मौलाएको छ ।’

फाइल तस्वीर

लामो समयदेखि छोटी भन्सार बन्द हुँदा लाखौँ राजस्व गुमेको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । अवैध सामान पक्राउपछि नेपालगन्ज पुर्याउनुपर्ने भएकाले सीमामा बस्ने सशस्त्र प्रहरीलाई पनि भन्सार नभएपछि अवैध सामान पक्राउ गर्न झन्झट छ ।

स्थानीयका अनुसार छोटी भन्सार सञ्चालनमा नहुँदा खुला सीमा रहेका नाकाबाट खुलेआम तस्करी हुँदै आएको छ । ‘भन्सार छैन । तर, साइकलका साइकल सामान आइरहन्छन्,’ नरैनापुरका एक जना स्थानीयले नाम नबताउने सर्शमा भने ।

उनका अनुसार दिनभर सुरक्षाकर्मीले कडा गर्छन् । रात परेपछि उनीहरूकै मिलेमतोमा तस्करी हुन्छ ।’ यहाँ छोटी भन्सार नहुँदा नेपालगन्जसम्मका व्यापारीले सशस्त्र प्रहरीसँग लाइन मिलाएर राजस्व छलेर सामान भित्र्याउँदै आएका छन् ।

गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनःस्र्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयवासीको भनाइ छ । बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ ।

साइड नाकाहरूमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय सज्जाद खाँले बताए । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छोटी भन्सार नहुँदा राजस्व चुहावट हुँदै आएको बताए ।

उनले छोटी भन्सार पुनःस्थापनाका लागि पटकपटक आग्रह गरिए पनि सुनुवाइ नभएको बताए । आर्थिक वर्ष २०७८–०७९ मा लक्ष्यको ८८.५ प्रतिशत मात्रै राजस्व असुली गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेकामा २२ अर्ब ३१ करोड २६ लाख अर्थात् ८८.५ प्रतिशत मात्र असुली गर्न सकेको भन्सार कार्यालय नेपालगन्जका अधिकृत प्रवीण लिम्बूले बताए ।

उनले चालू आर्थिक वर्षको हालसम्म पनि हरेक महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भइरहेको बताए । गत महिना बाँकेको भारतसँग सिमाना जोडिएको नरैनापुर क्षेत्रको भ्रमणमा गएका अर्थमन्त्री जनार्दन शर्माले सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका छोटी भन्सार पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार ०९:४२