सूचनाको शक्ति - The Power Of Information

        

गोरखा दरबारको दशैंघरमा विधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा विधिपूर्वक राखियो जमरा । तस्वीर : रासस

गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए ।

मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको प्रमुख भुसालले जानकारी दिए ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ । बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ । यसैगरी, गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए ।

मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्यपूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए । गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १३:१७