सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

आगामी शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्दै ‘महिला कलेज’

मधेसी, मुस्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भए पनि सबै जाति र समुदायका छोरीले पढ्न पाउने छन् ।

मधेशी र मुस्लिम छात्रालाई लक्षित नेपालगन्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेजले यही शैक्षिक सत्रदेखि पढाइ सञ्चालन गर्ने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमा ६ वटा विषयमा कक्षा सञ्चालनका लागि अनुमति माग गरिएकोमा चार वटा स्वीकृत भई आएपछि कक्षा सञ्चालनको तयारी गरिएको कलेज प्रमुख रवीन्द्र कर्णले जानकारी दिए ।

यस वर्ष बीबीएस र चारवर्षे बीएड कक्षा सञ्चालनको तयारी गरिएको छ । ‘आगामी शैक्षिक सत्रदेख बीसीए र बीआइटी, आइटी पनि सञ्चालन हुनेछ,’ कलेज प्रमुख कर्णले भने ।

क्याम्पसले व्यवस्थापन सङ्कायमा बीबीए र बीबीएस, कानुन सङ्कायमा पाँच वर्षे बीएएलएलबी, शिक्षा सङ्कायमा चार वर्षे बीएड र विज्ञानतर्फ चार वर्षे बीसीए र बीआइटी कक्षा सञ्चालनका लागि विश्वविद्यालयमा सम्बन्धनको माग गरेको हो ।

सो महिला कलेज नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको हो । कलेजका प्रमुख कर्णले करिब आठ करोड रुपैयाँको लागतमा उपमहानगरपालिकाले ४० कोठे भवन निर्माण गरेको जानकारी दिए ।

मधेशी र मुस्लिम छात्रालाई लक्षित गरे पनि सबै समुदायका महिलाले कलेजमा अध्ययन गर्न पाउनेछन् । कलेज सञ्चालनपछि बाँकेसहितका जिल्लाका महिलाको शिक्षामा पहुँच बढ्ने सम्बद्धको विश्वास छ ।

मधेसी, मुस्लिम लगायत समुदायका छोरीलाई लक्षित गरेर महिला कलेज स्थापना भए पनि सबै जाति र समुदायका छोरीले पढ्न पाउने छन् । कलेजले कम्प्युटर ल्यावसहितको १४ कोठे छात्राबास निर्माण गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतवार ११:०७