शुक्रबार दिउँसो घाँस काट्न निस्केकी महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको शव हत्या गरिएको अवस्थामा भेटिएको छ । घटनास्थलको प्रकृतिले उनको बलात्कारपछि हत्या भएको आशंका स्थानीय र प्रहरीले गरेको छ ।
स्थानीय युवा हैदर अंसारीले घाँस काटन निस्केकी खातुन अबेरसम्म घर नफर्किपछि ससुराको सहयोगमा प्रहरीलाई जानकारी गराएर उनको खोजी गरेका थिए । गाउँभन्दा एक किलोमिटर पूर्व बिग्ही नदीको छेउमा रहेको बाँसघारीमा उनको शव भेटिएको थियो ।
घटनास्थलमा केही ठाउँमा घिसारेको जस्तो देखिन्छ । उक्त क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको ओहोरदोहोर हुने भन्दै स्थानीले प्रहरीसँग गम्भीर अनुसन्धान गर्न माग गरेका छन् । महिलाको शरीरको चार ठाउँमा फलामको सानो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवले बलात्कारपछि हत्या भएको आशंका गरिए पनि मेडिकल रिपोर्टपछि मात्रै त्यसको पुष्टयाई हुने बताए । घटनास्थलमा मुचुल्का उठाउँदै भेटिका प्रहरी प्रवक्ता यादवले घाँटी, छाती लगायतका ठाउँमा सानो हतियार प्रहार भएको देखिएको बताए ।
स्थानीय प्रहरी चौकीमा महिला अहिलेसम्म घर नफर्किएको भनेर शुक्रबार साँझ खबर भएपछि प्रहरी र स्थानीयबासीले संयुक्त रुपमा खोजतलाश गर्ने क्रममा राति करिब १० बजेतिर शव भेटिए थियो । प्रहरी नायव उपरीक्षक यादवले अनुसन्धान भइरहेको र चाँडै नै सत्य बाहिर आउने जानकारी दिए ।
राति नै घटनास्थल पुगेका मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले महिलाको शरीरको विभिन्न भागमा रगत र कुटपिटको निशान देखिएको बताए । मृतक महिलाको पति रोजगारीको क्रममा कतारमा छन् भने दुई छोरामध्ये एकजना वैदेशिक रोजगारमा र एकजना राजधानी काठमाडौंमा छन् ।
सत्यपाटी । महोत्तरी ।