सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा म्यादी प्रहरीका लागि एक हजार ५८९ जनाको आवेदन

म्यादी प्रहरी । फाइल तस्वीर ।

बझाङमा म्यादी प्रहरीका लागि एक हजार ५८९ जनाको आवेदन परेको छ । जसमा आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४४ महिला र एक हजार १४५ पुरुषको आवेदन परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय बझाङले गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो । म्यादी प्रहरीको स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा असोज ९ देखि ११ गतेसम्म र १२ गतेदेखि लिखित परिक्षा सत्यवादी माध्यमिक विध्यालय भोपुरको खेल मैदानमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बझाङले जारी गरेको सूचनामा उल्लेख छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका र पूर्व सुरक्षाकर्मीले भने अन्तरवार्ता परिक्षामा मात्र सहभागी हुनुपर्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । म्यादी प्रहरीको अन्तिम नतिजा असोज २४ गते प्रकाशन हुने छ । जिल्लामा करिब १२ सयको हाराहारीमा म्यादी प्रहरी छनौट गरिने सूचना अधिकारी एवं प्रहरी निरीक्षक अवस्थीले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १७:३७