सूचनाको शक्ति - The Power Of Information

        

भारतको लोकप्रिय साहित्यिक कार्यक्रम ‘चिया कविता’को नेपालमा शुभारम्भ

ललितपुर जिल्लाको इमडोलस्थित जक्सन क्याफे एण्ड खाजा घरमा चिया कविता नेपालले कविता वाचनको कार्यक्रम शुभारम्भ गरेको छ । चिया कविता भारतको सिक्किममा निकै लोकप्रिय कार्यक्रम हो ।

मणिराज सिंहको सभापतित्व र वरिष्ठ साहित्यकार निर्मोही व्यासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी तथा कवि कृष्णबहादुर विष्ट तथा गंगा दहालका साथै सर्लाही लालबन्दीकी मीना देवकोटाको पनि प्रत्यक्ष सहभागिता थियो । उता अनलाइन माध्यमबाट नेपालका विभिन्न सहरका साथै भारत र अमेरिकाबाट पनि श्रष्टाहरूको उत्साहजनक सहभागिता थियो ।

झापा मेचीनगरकी श्रष्टा मिरा काफ्ले पोखरेलको भर्चुअल कविता वाचनबाट सुरु भएको चिया कविताको यस कार्यक्रममा, पाँचथर जोरपोखरीकी उमा ओडारी, बिराटनगरकी सरिता तुलाधर, काठमाडौंका जनार्दन अधिकारी धड्कन, बर्दिबासका अग्नि कवछ, कोलोराडो अमेरिकाकी गंगा अभिलाषी, भैरहवाकी गंगा लिगलले चिया कविता नेपालको प्रथम कार्यक्रममा सहभागी हुँदै एक एक वटा कविता वाचन गरेका थिए ।

गान्तोक सिक्किमकी श्रष्टा जीविका अश्रुले सिक्किममा निरन्तर मासिक रूपमा भैरहेको चिया कविता कार्यक्रम काठमाडौंमा पनि सुरु भएकोमा खुशी व्यक्त गरे । मणिराजजी भर्खरै गान्तोक आएका बखत चिया कविता सिक्किमका अभियन्ताहरू प्रविण खालिङ्ग र अम्बर गुरुङ्गसित कुरा भएर चिया कविताकै लोगो प्रयोग गरी नेपालमा कार्यक्रम गर्न सहमति भएको थियो ।

मेरठ भारतका श्रष्टा डा विजय पंडितले उक्त अवसरमा मेरठ लिटरेरी सोसाइटीले मेरठमा मेरठ साहित्य महाकुम्भ मेला २०२२ नोवेम्बर २५,२६ र २७मा हुन लागेको जानकारी गराउनु हुँदै डिसेम्बर ४ मा काठमाडौंमा एक नेपाल भारत कवि सम्मेलन र पूनः फेब्रुअरी– मार्चमा तेस्रो नेपाल भारत साहित्य सम्मेलन २०२३ काठमाडौंमा नै गर्न लागेको जानकारी गराउँदै चिया कविता नेपालको प्रथम कार्यक्रमलाई शुभकामना दिए ।

प्रमुख अतिथि निर्मोही व्यासले औपचारिक कार्यक्रम त्यति मन नपर्ने भएकाले एक वर्षपछि मात्र यस्तो कार्यक्रममा उपस्थित भएको बताए । उनले आफ्ना कविताहरूसमेत प्रस्तुत गर्नु भएको थियो । सभापति मणिराज सिंहले सिक्किमका श्रष्टाहरूले चिया कविता कार्यक्रम धेरै अघिदेखि गरिरहेको समाचार कहिलेकाहीँ सुन्ने पढ्ने गरेको बताए ।

केही दिनअघि दार्जिलिङको साहित्यिक सम्मेलनमा गएको बखत सिक्किमकी श्रष्टा जीविका अश्रुजीको संयोजनमा विश्व नेपाली साहित्य महासंङ्घको नेपाल शाखाको पहलमा नेपाल शाखाकी सभापति कल्पना पौडेल जिज्ञासु र सल्लाहकार ऋषिराम सापकोटा र चिया कविताका संयोजकहरू प्रवीण खालिङ्ग र अम्बर गुरुङ्गसँग नेपालमा पनि कार्यक्रम गर्ने सहमति भए अनुसार कार्यक्रम गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार ०७:१८