बालाराम खड्का । दाङ । पछिल्लो समयमा सरकारले यहाँका ज्येष्ठ नागरिकलाई बैंकिङ प्राणालीअनुसार सामाजिक सुरक्षा भत्ता दिने निर्णयले आफूहरुलाई निकै सास्ती हुने गरेको वृद्धवृद्धाको गुनासो छ । अशक्तलाई दिने सामाजिक सुरक्षा भत्ता पायक पर्ने स्थानमा दिनुपर्ने भए पनि यहाँ भने यस्तो सहज हुन नसकेको उनीहरुको भनाइ छ ।
‘मलाई त बैंकले वृद्ध भत्ता दिएन, के के मिलेन मिलाएर आउनुस् भनेर यहाँ पठायो, कात्तिकमा भने यही परिचयपत्रबाटै चार महिनाको वृद्धभत्ता बुझेको थिए,’ आइतबार उपमहानगरपालिकामा आएका तुलसीपुर–१ का ७५ वर्षीय छविलाल खनालले बगेका पसिना पुछ्दै भने । उनीसँग उमेर खुलेको र नागरिकता नम्बरसमेत उल्लेख भएको परिचयपत्र थियो ।
‘कस्तो सरकार हो, यो, हामीलाई वडामै भत्ता दिए कति धर्म हुन्थ्यो,’ उनले भने । ‘सामाजिक सुरक्षा भत्ताले निकै हैरानी बनायो, बैंकमा धाउन लागेको एक हप्ता भयो कहिले के पुगेन भन्नुहुन्छ कहिले के, आज फेरि नगरपालिकामा पठाउनुभयो,’ अर्का बयोवृद्ध थलबहादुर वलीले भने । उनीहरु जस्तै यहाँका करीब चार हजार वृद्धवृद्धाले यसरी नै बैंकमा लाम लागेर वृद्ध भत्ता लिँदै आएका छन् ।
अधिकांशलाई कहिले के मिलेन, कहिले सफ्टवेयर (कम्युटर)ले काम गरेन भन्दै फेरि मिलाउन बैंकले उपमहानगरपालिकाको कार्यालय पठाउने गरेको छ । यस्तो समस्या लिएर दर्जनभन्दा बढी व्यक्ति उपमहानगरपालिका धाइरहेको अवस्था छ । तुलसीपुर उपमहानगरपालिकामा तीन हजार ९७२ ज्येष्ठ नागरिक र अन्य गरी १३ हजार ८९० जनाले भत्ता लिने गरेका थिए ।
पहिले वडाबाट लिँदै आएको सामाजिक सुरक्षा भत्ता पछिल्लो समयमा बैंकबाट दिन थालेपछि ज्येष्ठ नागरिक तथा अन्य व्यक्तिलाई निकै हैरानी खेप्नुपरेको बंैकको लाममा बस्दै आएका वृद्धवृद्धाले बताए । सबै स्थानीय निकायमा बैंक नहुँदा उनीहरुले तुलसीपुरमै आएर बैंकबाट सामाजिक सुरक्षा भत्ता लिनुपर्ने अवस्था रहेको उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले बताए ।
‘बैंकमा भीड हुने गर्छ हामीजस्ता वुद्धवृद्धालाई सामाजिक भत्ता वडामै व्यवस्था गरेको भए राम्रो हुने थियो हामीहरुले निकै सास्ती खेप्नुपरेको छ,’ स्थानीय मदिसरा खनालले भनिन् । उनीजस्तै अशक्त बिरामी, वृद्धवृद्धालाई भने निकै समस्या हुने गरेको छ । ‘बिहानै भत्ता लिन आएका हौँ, अहिलेसम्म पालो आएको छैन यो सामाजिक सुरक्षा भत्ताले असुरक्षा गराएको छ,’ तुलसीपुर–३ की कलिसरा पुनले भनिन् ।
तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समयमा विभिन्न १७ वटा बैंकबाट विभिन्न वडाका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । त्यसैगरी अन्य साविकका गाविसबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता पनि बैंकिङ प्रणालीबाट दिने भएपछि आफूहरुले हैरानी खेप्नुपरेको गाउँपालिकाबाट आएका वृद्धवृद्धाले बताएका छन् । घर आँगनमा बुझ्ने गरेको भत्ता बैंकबाट दिने नाममा सरकारले आफूहरुलाई दुःख दिएको दंगीशरण–२ का शालिकराम भण्डारीले बताए ।
बैंंक प्रणालीबाट भत्ता वितरणका लागि फाराम भर्न वडा कार्यालयमा आएका अधिकांश ज्येष्ठ नागरिकले सरकारको यो कदमले आफूहरुलाई दुःख भएको बताएका थिए । त्यस्तै कति ज्येष्ठ नागरिकले त खाता खोल्ने प्रक्रिया पूरा गर्न नसकेका कारण सामाजिक सुरक्षा बुझ्नबाट वञ्चित हुनुपरेको दंगीशरण गाउँपालिका वडा नं २ का कर्मचारी देवीराम कुसारीले जानकारी दिए ।
‘खाता सञ्चालनका लागि आवश्यक पर्ने कागजात जुटाउन नै समस्या भएको र कैयन ज्येष्ठ नागरिकले फोटो र फोटोकपी भनेकै थाहा नपाउने भएका कारण पनि बैंकका लागि खाता सञ्चालन गर्न समस्या भएको छ,’ उनको भने । तुलसीपुर उपमहानगरपालिका पञ्जीकाधिकारी ध्रुव रेग्मीले पछिल्लो समयमा सरकारले सम्बन्धित वडाबाट वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीअनुसार वितरण गर्दा केही समस्या भएको स्वीकार गरे ।
‘कानूनी व्यवधानले गर्दा बैंकमा खाता खोल्नुपर्ने र अन्य कागजात आवश्यक पर्ने भएकाले यस्तो असहजता वृद्धवृद्धामा पर्न गएको हो,’ उनले भने, ‘पहिले गाउँमा सामाजिक सुरक्षा भत्ता दिँदा सजिलो पनि थियो र दुरुपयोग पनि भएको थियो, हाल भने असजिलो छ तर दुरुपयोग रोकिएको छ त्यति नै फरक हो ।’ रासस
।