सूचनाको शक्ति - The Power Of Information

        

बझाङका ६ जना कैदीको सजाय मिनाहा

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बझाङका छ जना कैदीबन्दीको सजाय माफी दिएकी छन् ।

बझाङका कर्तव्य ज्यान मुद्दा लागेका चार जना, बहुविवाह गरेका एक जना र कुटपिट अंगभंग मुद्दा लागेका एक जना गरी छ जनालाई राष्ट्रपतिले कैद सजाय माफी गरेकी हुन् ।

जसमा कर्तव्य ज्यान मुद्दा लागेका छविसपाथिभेरा गाउँपालिका–३ का अम्मरबहादुर सार्की २०७४ भदौ २६ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

उनलाई सर्वोच्च अदालतले १० बर्ष कैद सजाय तोकेको थियो । सार्कीले पाँच वर्ष छ दिन जिल्ला कारागारमा रहेका थिए । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै थलारा गाउँपालिका–९ घर भएका विष्णुबहादुर सिंह पनि कर्तव्य ज्यान मुदामा २०६८ माघ २९ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

सिंहलाई जिल्ला अदालत बझाङबाट २० बर्ष कैद सजाय तोकेकोमा १० वर्ष सात महिना तीन दिन जिल्ला कारागार बझाङमा रहेका हुन् । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै दुर्गाथली गाउँपालिका–१ घर भएका अम्मरबहादुर थापा पनि कर्तव्य ज्यान मुदामा २०७९ असोज १७ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

थापालाई सर्बोच्च अदालतबाट २० बर्ष कैद सजाय तोकेकोमा नौं वर्ष ११ महिना १५ दिन जिल्ला कारागार बझाङमा रहेका हुन् । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै दुर्गाथली गाउँपालिका–७ घर भएका उजले दौल्याल पनि कर्तव्य ज्यान मुदामा २०७४ भदौ २८ गतेदेखि जिल्ला कारागार बझाङमा कैद सजाय भोग्दै आएका थिए ।

दौल्याललाई सर्वोच्च अदालतलबाट १२ बर्ष कैद सजाय तोकेकोमा पाँच वर्ष चार महिना जिल्ला कारागार बझाङमा रहेका हुन् । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै, बहुविवाहको मुद्दा लागेका सुर्मा गाउँपालिका–२ का लोकबहादुर बोहरा २०७७ साल असार ४ गतेदेखि जिल्ला कारागारमा कैद सजाय भोग्दै आएका थिए ।

जिल्ला अदालत बझाङले बोहरालाई ढाई बर्ष कैद सजाय सुनाएको थियो । बोहराले एक बर्ष पाँच दिन बझाङ कारागारमा रहेका थिए । बाँकी सजाय माफी गरिएको छ ।

त्यस्तै, कुटपिट अंगभंग मुदा लागेका सुर्मा गाउँपालिका–२ का कलकबहादुर बोहरा २०७७ मंसिर २० गतेदेखि बझाङ कारागारमा कैद सजाय भोग्दै आएका थिए ।

जिल्ला अदालत बझाङले बोहरालाई चार वर्ष कैद सजाय सुनाएको थियो । बोहरा एक बर्ष नौं महिना १२ दिन बझाङ कारागारमा थिए । बाँकी सजाय माफी गरिएको छ ।

सर्वोच्च र जिल्ला अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद कट्टा गरी माफी मिनाहा गरेपछि आज छ जना जिल्ला कारागार बझाङबाट छुटेको कारागारका जेलर धनबहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १४:४६