सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम कायमै

प्रदेश-१ र वाग्मतीमा ठूलो वर्षा

आज प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार आज हिजोको जस्तो अति ठूलो वर्षा हुने सम्भावना भने कम छ । तर, अति ठूलो वर्षा नभए पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जोखिम धेरै छ । लुम्बिनी प्रदेशमा अहिले पानी परिरहेको छ । यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि पनि फेरि ठूलो वर्षाको सम्भावना छ । भोलि प्रदेश-१ र मधेस प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिनमा र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यस्तै, यात्रा गर्दा  पनि सडक र मौसमको अवस्थाबारे जानकारी लिन सुझाव दिइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार ०७:४५