सूचनाको शक्ति - The Power Of Information

        

२०७९ भाद्र ३० गतेको राशिफल : कन्या र मीनलाई समस्या

२०७९ भाद्र ३० गते, बिहीवार, १५ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष पञ्चमी तिथि, १२ः४५ बजेदेखि षष्ठी । भरणी नक्षत्र, १०ः५६ बजेदेखि कृत्तिका । चन्द्रराशि– मेष, १७ः१५ बजेदेखि वृष ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सोख र हडबडीले केही समस्या निम्त्याउन सक्छ । काम बने पनि सानो त्रुटि सच्याउन निकै मेहनत गर्नुपर्ला । पारिवारिक माहोल केही कमजोर बन्ने देखिन्छ । खानपानको सोखले स्वास्थ्य कमजोर बन्न सक्छ । उपहारको मोहले कर्मक्षेत्र प्रभावित बन्न सक्छ । साँझतिर विवादास्पद काम गर्नुपर्ने परिस्थिति आउला । आत्मसम्मानका लागि बोली–व्यवहारमा सावधान रहनुहोला । खर्च पनि बढ्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खर्च गरीकन सोचेको प्रगति नहुन सक्छ । फाइदाको अवसर आए पनि पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई सञ्चय हुनेछ । साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ योजना थाल्ने साइत जुर्न सक्छ । मनपर्ने वस्तु उपहारका रूपमा प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सञ्चय नभए पनि रकम हातलागी हुनाले उत्साह जाग्नेछ । मिहिनेतले आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन जुटाउन सकिनेछ । व्यापारमा सामान्य फाइदा हुनेछ । आफ्नो रकम अरूका लागि खर्चनुपर्ला । साँझतिर अर्थ अभाव देखा पर्न सक्छ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । सोखले खर्च बढाउनेछ । आँटेको काम रोकिन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पहिले रोकिएको कामले उत्साह जगाउनेछ । मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ । अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको दिन केही संघर्षमय रहने देखिन्छ । जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ । धेरै समय अरूका लागि खर्चनुपर्ला । अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ । साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ । परिश्रमले धेरैको मन जित्न सकिनेछ । मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ । पेसामा पनि प्रशस्त फाइदा हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिनभरि सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । कमजोरीका बाबजुद अरूका लागि समय खर्चनुपर्ला । प्रयत्न गर्दा नियमित कामबाट लाभ उठाउन सकिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।साँझतिर अवसरवादीहरू जाग्नेछन् र आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि समुदायको हितमा असल काम गर्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ । रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ । परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आत्मबलका साथ रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । काममा केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ । साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले पनि उत्साह जगाउनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । स्वास्थ्य कमजोर हुनाले अध्ययनमा सोचेको प्रगति नहुन सक्छ । आँटेको काम पनि बीचैमा रोकिएला । गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ । साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साहसी काम गरेर लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ । आफन्तसँग वैरभाव बढ्नाले मन खिन्न हुनेछ । साँझतिर स्वास्थ्य कमजोर हुन सक्छ, आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको मेसो नमिल्दा केही अलमल हुनेछ । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । अवसरले पनि उत्साह जगाउने देखिन्छ । साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । भूमि तथा पशुधनबाट थोरै लाभ मिल्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययन र व्यापारमा सोचेको प्रगति नहुन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले व्यवहारमा सजग रहनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा विशेष लाभ हुनेछ । बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार ०८:१५